
स्याङ्जा । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आसन्न नवौं महाधिवेशनका लागि स्याङ्जाका पूर्वअध्यक्ष नवराज सुवेदीलाई अध्यक्ष पदमा उम्मेदवारी दिन सिफारिस गरिएको छ ।
स्याङ्जा उद्योग बाणिज्य संघको बुधबार बसेको बैठकले सुवेदीलाई अध्यक्ष पदका लागि सिफारिस गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको हो। संघका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सुवेदीको नेतृत्व क्षमता, अनुभव र योगदानलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको जनाइएको छ।
सुवेदी स्याङ्जाका स्थापित तथा प्रतिष्ठित व्यवसायी हुन्। उनी सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै ख्याती कमाएका व्यक्तित्वका रूपमा परिचित छन्। स्याङ्जाका विभिन्न संघ–संस्थामा कुशल नेतृत्व प्रदान गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका सुवेदी हाल नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको कोषाध्यक्षका रूपमा कार्यरत छन्।
व्यवसायिक क्षेत्रको सुदृढीकरण, निजी क्षेत्रको हित संरक्षण र प्रदेशस्तरीय उद्योग व्यापार प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यसहित सुवेदीलाई अध्यक्ष पदका लागि अघि सारिएको संघले जनाएको छ।