
स्याङ्जा । स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिकामा जिल्लामै पहिलोपटक कपडा बैंक सञ्चालनमा आएको छ। सामाजिक सहयोग र मानवीय सेवाको उद्देश्यसहित पुतलीबजार नगरपालिका–१ स्थित ट्याक्सी चोकमा शुक्रबार एक कार्यक्रमका बीच कपडा बैंकको औपचारिक शुभारम्भ गरिएको हो।
पुतलीबजार नगरपालिका–३ मा रहेको लत्रेपिपल क्लब र पुतलीबजार नगरपालिकाको साझेदारी तथा समन्वयमा सञ्चालनमा आएको कपडा बैंकले लक्षित वर्गका नागरिकलाई आवश्यक कपडा सहज, सम्मानजनक र निःशुल्क रूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ। उद्घाटन समारोहमा नगर प्रमुख तुलसीराम रेग्मीले कपडा बैंकले सामाजिक समानता, सहयोग र आत्मसम्मान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, खुमा अर्याल फाउन्डेसन स्याङ्जाका अध्यक्ष लेखनाथ शर्मा, समाजसेवी विश्वराज मरासिनी लगायत वक्ताहरूले कपडा बैंकलाई दीगो र प्रभावकारी बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता, नियमित संकलन अभियान तथा पारदर्शी व्यवस्थापन आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रम संयोजक तथा लत्रेपिपल क्लबका अध्यक्ष मनोज मल्लले आम नागरिकका घरघरमा रहेका प्रयोग गर्न मिल्ने तर प्रयोगमा नआएका कपडा, झोला, जुत्ता लगायत सामग्री सफा गरी दान गर्न आह्वान गरे। कपडा बैंकलाई सामाजिक एकताको केन्द्रका रूपमा विकास गरिने उनको भनाइ छ।