
स्याङ्जा । वालिङ नगरपालिकाको आयोजना तथा विभिन्न सहयोगी संस्थाको सहकार्यमा वालिङ नगरपालिका वडा नं. ५ जगतभञ्ज्याङ स्थित स्वास्थ्य चौकीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल नेपाल ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको आयोजनामा २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसर पारेर उक्त शिविर सञ्चालन गरिएको हो।
शिविरमा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, आइ केयर फाउन्डेसनको विशेष सहयोग, सशस्त्र प्रहरी बल नेपाल ३० नं. हेडक्वाटर वालिङ स्याङ्जाको सहकार्य तथा वडा नं. ५ कार्यालयको व्यवस्थापन रहेको थियो।
कार्यक्रमअन्तर्गत १६० जनाको आँखा परीक्षण तथा २५० जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ। आँखा परीक्षण गरिएका मध्ये ३ जनामा मोतियाबिन्दु रोग पहिचान भएको छ। मोतियाबिन्दु पहिचान भएका बिरामीहरूको यही पौष १२ गतेदेखि १४ गतेसम्म वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको छ।
शिविरमा चिकित्सकसहित २० जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो। स्वास्थ्यकर्मीहरूले परीक्षणसँगै आवश्यक परेका बिरामीहरूलाई निःशुल्क औषधि वितरणसमेत गरेका थिए। स्थानीय बासिन्दाहरूले गाउँमै निःशुल्क सेवा पाएकोमा खुशी व्यक्त गर्दै यस्तो शिविरले स्वास्थ्य सचेतना बढाउन सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।
आयोजक वालिङ नगरपालिकाले शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्था, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा व्यवस्थापनमा खटिएका सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।