
स्याङ्जा, चापाकोट–
नेपाली कांग्रेस स्याङ्जाका युवा नेता तथा समाजसेवी शेषकान्त पुरीले श्री बैडी माध्यमिक विद्यालय, चापाकोट–९ स्याङ्जाका १२० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन्। कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी पुरीले करिब एक लाख रुपैयाँ बराबरका न्यानो पोसाक वितरण गरे।
कार्यक्रममा विद्यार्थीहरूसँग बोल्दै पुरीले अनुशासन, लगनशीलता र सकारात्मक सोच नै सफल जीवनको आधार हुने उल्लेख गरे। उनले भने, “विद्यार्थीहरू पढाइमा मात्र नभई समाजमा पनि उत्कृष्ट भूमिका निभाउने सक्षम जनशक्ति बन्नुपर्छ।” शिक्षकमाथि कृतज्ञता व्यक्त गर्दै उनले थपे, “शिक्षक जीवन रूपान्तरण गर्ने दुर्लभ पेशाका प्रतिनिधि हुन्, उनीहरूकै मार्गदर्शनले विद्यार्थीको भविष्य उज्यालो हुन्छ।”

विद्यालयका प्रधानाध्यापक धनश्याम आचार्यले पुरीद्वारा शिक्षाक्षेत्रमा वर्षौंदेखि देखाइँदै आएको सहयोग र संवेदनशीलताको प्रशंसा गरे। उनले विद्यालय परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीको पठन–पाठनमा प्रेरणा थपिने बताए।
न्यानो कपडा वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत पाठक, पूर्व प्रधानाध्यापक कृष्णप्रसाद पण्डित, चापाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मणि खनाल, अभिभावक, शिक्षक तथा स्थानीय सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
काठमाडौँमा व्यवसाय गर्दै आएका पुरी हाल चापाकोट क्षेत्रको शिक्षा, सामाजिक सेवा र नेपाली कांग्रेसको राजनैतिक गतिविधिमा सक्रिय रहँदै आएका लोकप्रिय युवा नेता मानिन्छन्।