
वालिङ नगरपालिकाले पहिलोपटक आयोजना गरेको सडक खाना महोत्सव ले स्थानीय तहले सही दृष्टिकोण, योजना र नेतृत्व क्षमता देखाएमा कति ठूलो सम्भावना फक्रिन सक्छ भन्ने स्पष्ट प्रमाण प्रस्तुत गरेको छ। कम बजेटमा सुरु गरिएको यो महोत्सवले स्थानीय उत्पादन, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनलाई एकैसाथ अघि बढाउँदै आर्थिक गतिशीलताको नयाँ आधार तयार पारेको छ।
नगरपालिकाले जम्मा ६ लाख रुपैयाँको लागतमा आयोजना गरेको महोत्सवले देखाएको रौनक, व्यापक सहभागिता र व्यापारिक सक्रियताले आगामी वर्षदेखि ५० लाख रुपैयाँभन्दा बढी आन्तरिक आम्दानी गर्न सकिने सम्भावना बलियो बनाएको छ। स्थानीय सरकारहरू निरन्तर संघ–प्रदेशको अनुदानमै निर्भर भइरहेका बेला, वालिङले देखाएको यस्तो स्वावलम्बी मोडेल प्रशंसनीय मात्र होइन, अनुकरणीय पनि बनेको छ।
यस महोत्सवले स्थानीय समुदायका मौलिक खानाका परिकार, कृषि औजार, भेषभूषा, कला–संस्कृति र पर्यटकीय आकर्षणलाई व्यवस्थित रुपमा बजारमा परिचित गराएको छ। व्यापारिक गतिविधिमात्र होइन, महोत्सवले वालिङको आँधीखोले सभ्यता र यहाँको मौलिक पहिचानलाई पुनर्जीवित गरेको छ। पछिल्ला वर्षहरूमा ठेक्का प्रथामा सीमित हुँदै गएका स्थानीय मेला–महोत्सवले आफ्नो मौलिकता गुमाउँदै गएका बेला, नगरपालिकाले प्रत्यक्ष नेतृत्व लिएर गरेको यो प्रयास स्थानीय संस्कृतिको संरक्षण र संवर्द्धनतर्फको सही कदम हो भन्ने हाम्रो ठम्याई छ ।
यससँगै, वालिङ उद्योग वाणिज्य संघले आगामी माघ महिनामा गर्ने महोत्सव गण्डकी प्रदेशकै उत्कृष्ट महोत्सव मध्येको एक हो । यश पटक नबौ संस्करणको महोत्सव आयोजना गर्दैछ, जसले वार्षिक १ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएको छ । नगरपालिकाले गत वर्षदेखि वालिङ चेम्वर्सले आयोजना गरेको महोत्सवलाई कर दायरामा ल्याई झण्डै १० लाख रुपैयाँ राजस्व संकलन गरेको कदम पनि स्थानीय सरकारको दिगोपनाप्रतिको उत्कृष्ठ कार्य हो । यस प्रकारका काम प्रति नागरिकले नगरपालिका र जनप्रतिनिधिलाई धन्यवाद दिनुपर्दछ । अन्य पालिकाहरूले पनि यस्ता कार्यक्रमलाई कर प्रशासन र आन्तरिक आय वृद्धिमा जोड्ने अभ्यास सिक्नु आवश्यक छ।
अब मुख्य जिम्मेवारी वालिङ नगरपालिकामाथि नै रहन्छ—यस्ता महोत्सवलाई कार्यविधि निर्माण गरेर निरन्तरता दिने, स्थानीय उत्पादन र संस्कृतिलाई प्राथमिकता दिने, निजी क्षेत्र र समुदायसँग समन्वय बढाउने र यसलाई दीगो राजस्व स्रोतका रूपमा संस्थागत गर्ने।
सडक खाना महोत्सव मनोरञ्जन मात्र होइन, स्थानीय अर्थतन्त्र, सांस्कृतिक पहिचान र स्वावलम्बनको मार्गचित्रको रूपमा लिनुपर्दछ । वालिङले सुरु गरेको यो परिकल्पना राष्ट्रिय स्तरका स्थानीय सरकारहरूका लागि पनि अनुकरणयोग्य पाठ बन्न सक्छ।