
वालिङ १७ मंसिर । स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा तीनदिने प्रथम वालिङ सडक खाना महोत्सव उत्साहपूर्ण वातावरणमा सुरु भएको छ। वालिङ पतञ्जलीदेखि सुर्कौँदी पुलसम्म नयाँ सडकमा वालिङ नगरपालिकाको आयोजनामा प्रथम खाना महोत्सव आयोजना गरिएको हो ।
स्ट्रिट फुड फेस्टिवल मंसिर १७ गतेदेखि १९ गतेसम्म चल्नेछ। स्थानीय मौलिक खानालाई बजारसम्म पुर्याउने उद्देश्यसहित ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय वृद्धि हाम्रो चाहना’ भन्ने नारा राखिएको यो महोत्सव नगरकै सांस्कृतिक, पर्यटन र आर्थिक सम्भावनालाई उजागर गर्ने लक्ष्य आयोजक ले लिएका छन् ।
महोत्सवको आज ओैपचारिक उदघाटन जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जि.टी.ले गरेका हुन । उद्घाटन गर्दै जि.टि.ले भने- “सडक महोत्सव वालिङको सांस्कृतिक जीवन, व्यापारिक सम्भावना र सामुदायिक एकताबाट जन्मिएको साझा उत्सव जस्तो बनेको छ । पहिलो महोत्सवमै देखिएको उत्साहले भविष्यमा यो महोत्सव वालिङकै पहिचान बन्नेछ।”

कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले महोत्सवलाई मनोरञ्जनको रूपमा मात्र नभई नगरको मूल आर्थिक आधारसँग पनि जोडिएको बताउँदै भने- “वालिङलाई पर्यटनमैत्री, सांस्कृतिक र व्यापारिक रूपमा अझ सक्रिय बनाउने हाम्रो प्रयासमा सडक महोत्सव महत्वपूर्ण मोड हो। नगरवासीको साथ र सहकार्य नै यस्तो कार्यक्रमको वास्तविक ऊर्जा हो, हामी सबै मिलेर वालिङलाई नयाँ उचाइमा पुर्याउनेछौँ।”
महोत्सवका संयोजक तथा नगर उप–प्रमुख कविता तिवारीले पहिलो पटककै सडक महोत्सवले देखाएको नागरिक उत्साह नगरका भविष्यका कार्यक्रमका लागि प्रेरणादायी बनेको बताउँदै थपिन्- “महोत्सवले स्थानीय उत्पादन, स्थानीय कला–साहित्य र व्यवसायलाई एकै ठाउँबाट प्रवर्द्धन गर्ने अवसर बनाएको छ। यो महोत्सवले विविधतालाई जोडेर वालिङको विकासमा महत्वपूर्ण टेवा पुग्ने छ ।”
मूल्य–श्रृङ्खलामा आधारित कृषि तथा जडिबुटी उत्पादनको बजारिकरणलाई नगरपालिका प्राथमिकतामा राखेको उल्लेख गर्दै तिवारीले भनिन – “नगरमा उत्पादन भएका वस्तु सहज रूपमा विक्री वितरण होस् भन्ने चाहनाका साथ यो महोत्सव आयोजना भएको हो, सबैको सहभागिता आवश्यक छ ।”
२५ वटा स्टल रहेको महोत्सवमा गुरुङ, मगर, नेवार, बाहुन, क्षेत्री समुदायका मौलिक परिकार, भेषभूषा, नृत्य–संगीत, परम्परा र जीवनशैली एकै स्थानमा अवलोकन गर्न सकिनेछ। स्थानीय कृषकका फलफूल, तरकारी, कृषि ओैजार र स्थानीय उद्यमलाई निःशुल्क स्टलमार्फत प्रदर्शन तथा प्रवर्धन गर्ने व्यवस्था छ।
कार्यक्रममम उद्घोषक माधव न्यौपानेका अनुसार दोस्रो दिन रंगीन पटका पड्काइने कार्यक्रम सहित महोत्सवलाई थप आकर्षक बनाउने तयारी गरिएको छ।

वालिङवासीको पहिलो दिनमानै उत्साहजनक सहभागिताले सडक खाना महोत्सव नगरको सांस्कृतिक पहिचान र पर्यटन सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएको महोत्सव व्यवस्थापक पदमराज गुरूङले वताएका छन् । महोत्सवमा रात्रीकालिन साङ्गितिक कार्यक्रम रहने छ ।
