
वालिङ- १२ मंसिर । वालिङ नगरपालिकाले पहिलोपटक ‘सडक खाना महोत्सव’ आयोजना गर्न लागेको छ। स्थानीय उत्पादनको बजार विस्तार, व्यापारिक चहलपहल बढाउने र नगरको सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यसहित मंसिर १७ गतेवाट १९ गते सम्म ३ दिने सडक महोत्सव आयोजना गरिएको हो ।
पतञ्जली – खेलमैदान–सुर्कौदी पुलसम्म आँधीखोला करिडोड नयाँ सडकमा महोत्सव गर्न लागिएको हो । महोत्सवले सडकलाई तीन दिनसम्म परिकार, कला र संस्कृतिको खुला मंचमा रूपान्तरण गर्नेछ। नगरभित्र आर्थिक चलायमानता ल्याउने लक्ष्यसहित गरिएको यो तयारीलाई स्थानीयवासीले पनि उत्साहका साथ स्वागत गरेका छन्।

महोत्सवका तयारीबारे मंसिर १३ मा नगरपालिकाले सर्वपक्षीय छलफल समेत आयोजना गरेको छ । छलफलमा सुरक्षा, व्यवस्थापन, सरसफाइ, यातायात र भीड नियन्त्रणलगायत विषयमा व्यापक रूपले छलफल हुने भनिएको छ ।
नगरप्रवक्ता तथा वडा नं. १ का अध्यक्ष पदमराज गुरुङका अनुसार महोत्सवमा स्थानीय परिकारका स्टल, जातीय भेषभूषा, सांस्कृतिक प्रस्तुति र स्थानीय कलाकारका कार्यक्रम मुख्य आकर्षण हुनेछन्। इच्छुक व्यवसायीका लागि स्टल बुकिङ मंसिर १५ सम्म खुला राखिएको छ। प्रतिदिन रु ५०० शुल्क तिरेर स्टल राख्न सकिने व्यवस्था गरिएको छ।
महोत्सव–२०८२ की संयोजक तथा नगर उपप्रमुख कविता तिवारी गैह्रेले महोत्सवले पालिकाका १४ वडामा उत्पादन हुने सामग्रीको पहिचान र बजार विस्तारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन्। उनका अनुसार महोत्सवको साँझको सत्रमा प्रशासनको अनुमति लिएर आतिसबाजी समेत प्रर्दशन गरिनेछ, जसले कार्यक्रमलाई थप आकर्षक बनाउनेछ।
प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले महोत्सवले नगरभित्र आन्तरिक पर्यटन, व्यापारिक गतिविधि र सामाजिक सहभागिता वृद्धि हुने बताए।
तीन दिनसम्म चल्ने यो सडक महोत्सवले वालिङलाई रमाइलो वातावरणसहित आर्थिक, सांस्कृतिक र सामाजिक उत्सवको केन्द्रमा बदल्ने अपेक्षा गरिएको छ। यो सडक महोत्सवलाई आगामी वर्षवाट निरन्तरता दिने समेत महोत्सव मुल आयोजक समितिमा संयोजक तथा उपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिएकी छन् ।