
अन्य पालिकालाई पनि किसानको पीडा सम्बोधन गर्न आग्रह
स्याङ्जा, २३, कात्तिक ।
हालैको बेमौसमी र अविरल वर्षाका कारण स्याङ्जा जिल्लाका किसानहरू गम्भीर समस्यामा परेका छन्। विशेषगरी भीरकोट नगरपालिकाका विभिन्न वडामा काट्न तयार धान खेतमै डुबानमा परेर नष्ट भएपछि किसानको वर्षभरको मिहिनेत पानीमा बगेको छ।
यस्तै अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेस भीरकोट नगर समितिले शुक्रबार नगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै राहत, क्षतिपूर्ति र पुनःस्थापना योजना तत्काल ल्याउन आग्रह गरेको छ।
नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण) नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा धानबालीमा परेको क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित किसानलाई तात्कालिक राहत उपलब्ध गराउन माग गरिएको छ।
साथै, आगामी कृषिकालका लागि बीउ, मल, प्रविधिक सहयोग र सिँचाइ सुधार योजना सहित दीर्घकालीन कृषि संरक्षण नीति ल्याउन पनि नगरपालिकालाई आग्रह गरिएको छ।
सभापति अधिकारीले भने, “कृषि नै हाम्रो नगरको प्रमुख जीविकोपार्जनको आधार हो। यस्तो विपत्तिमा किसानलाई राहत दिनु नगरपालिकाको पहिलो दायित्व हो।”
काँग्रेसले ज्ञापनपत्रमार्फत चार बुँदे सुझाव पनि दिएको छ —
१. प्रत्येक वडाबाट वास्तविक क्षति विवरण संकलन गर्न समिति गठन गर्ने।
२. प्रभावित किसानलाई धान खरिदमा सहयोग गर्ने र बीउ–मल वितरणको व्यवस्था गर्ने।
३. कृषि पुनःस्थापना कोष स्थापना गरी अनुदान तथा प्रविधिक सहयोग उपलब्ध गराउने।
४. बेमौसमी वर्षाको क्षति न्यूनीकरणका लागि कृषि बीमा र सिँचाइ सुधार योजना कार्यान्वयन गर्ने।
भीरकोट काँग्रेसले किसानको पीडा बुझ्न अन्य पालिका र स्थानीय सरकारहरूलाई समेत सचेत रहन आग्रह गरेको छ।
स्याङ्जाका विभिन्न गाउँपालिका र नगरपालिकाका किसानहरू पनि पछिल्ला वर्षात्का कारण बाली नष्ट हुँदा आर्थिक संकटमा परेको बताइरहेका छन्।
स्थानीय किसानहरूको भनाइमा, हरेक वर्ष यस्ता विपत्तिबाट जोगिन कृषि क्षेत्रलाई प्राथमिकता दिएर योजना बनाउन सरकार गम्भीर हुन जरुरी छ।