
स्याङ्जा, भदौ ११ ।
स्याङ्जामा नदिजन्य पदार्थको अवैध उत्खनन् तथा ओसारपसारमा संलग्न तीन वटा ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय वालिङ र मातहतको टोलीले वालिङ नगरपालिका–१ ओडारेस्थित आँधिखोलाको किनार र भीरकोट नगरपालिका–४ बगरस्थित आँधिखोलामा गरिएको कारबाहीमा ती ट्याक्टरहरू नियन्त्रणमा लिएको हो। नियन्त्रणमा परेकामा बाँके राप्ती सोनारी–७ का २४ वर्षीय सोभिराम थारु, बाँके खजुरा–६ का ३२ वर्षीय बलबहादुर थारु र पाल्पा रम्बादेवी–२ का २९ वर्षीय दुर्गा बहादुर सिंजापती रहेका छन्।
आँधीखोलामा अवैध उत्खनन् प्रशासनको निशाना
स्याङ्जामा नदिजन्य पदार्थको अवैध उत्खनन् नियन्त्रण गर्न प्रशासनले गरेको अनुगमनमा ठूलो परिमाणमा वालुवा थुपारेको भेटेको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख खड्कराज सुवेदी, प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दधिराम न्यौपाने, भीरकोट नगर प्रमुख गोविन्द कर्मचार्य, वडा प्रहरी कार्यालयका प्रमुख कमलराज पंडित पत्रकार महासंघका अध्यक्ष प्रदिप कोइराला सहित प्राविधिक ईन्जिनियरहरूको उपस्थितिमा गरिएको अनुगमनका क्रममा भीरकोट नगरपालिका–४ छाङ्छाङ्दी बगरमा ५६७.५ घनमिटर र वालिङ नगरपालिका–१ तथा भीरकोट–४ मा १९७७.३५ घनमिटर बालुवा संकलन गरी राखिएको अवस्थामा भेटिएको हो।
प्रहरीका अनुसार नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन् र संकलन भइरहेको भन्ने सूचनाका आधारमा अनुगमन टोली खटिएको थियो। अनुगमनका क्रममा भेटिएका सामग्री नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
प्रशासनले नदिजन्य पदार्थको अवैध उत्खनन् वातावरण र स्थानीय संरचनामाथि प्रत्यक्ष असर पर्ने भन्दै कडाइका साथ निगरानी गर्ने रअवैध उत्खनन् गरेकालाई कानुनी दायरामा ल्याउने प्रजिअ अर्यालले वताए ।
अनुगमन पश्चात् भीरकोट नगरपालिकामा जिल्ला समन्वय समितिका उपप्रमुख सुवेदीको अध्यक्षतामा वैठक बसेर अवैध नदिजन्य वस्तु उत्खनन् गर्नेलाई र नापजाँच गरि नियन्त्रणमा लिएको वस्तुको कारवाही प्रकृया अगाडि वढाउने निर्णय गरिएको थियो ।
