
फाइल तस्वीर
वालिङ ८ भदौ । वालिङ नगरपालिका–८ स्थित भीमटारीमा चितुवाको आक्रमणबाट दुई वटा वाख्राका पाठापाठी मारिएका छन्। आइतवार दिउँसो करिब ३ बजेको समयमा घर नजिकै चरिरहेका वाख्राका बच्चामाथि चितुवाले आक्रमण गरेको हो।
चितुवाको आक्रमणमा परेर मारिएका वाख्रा स्थानीय दिपेन्द्र कोइरालाका रहेको जनाइएको छ। उनका अनुसार वाख्राका पाठापाठी घर नजिकै खुला ठाउँमा चरिरहेका बेला एक्कासि चितुवा आएर दुबैलाई समातेको थियो। आक्रमणपछि चितुवा फरार भएको थियो।
घटनापछि स्थानीयवासीहरू त्रसित बनेका छन्। पछिल्लो समय भीमटारी क्षेत्रमा चितुवाको गतिविधि बढ्दै गएको उनीहरूले बताएका छन्।
‘घरकै आँगनमा चरेका बाख्रा खाएको छ, अब त साँझबिहान बच्चाहरूलाई पनि डर लाग्न थालेको छ,’ कोइरालाले वताए ।
स्थानीयले चितुवाको गतिविधि नियन्त्रण गर्न वन कार्यालयलाई जानकारी गरिएको छ। वन तथा वन्यजन्तु संरक्षण ऐन अनुसार वन्यजन्तुबाट भएको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइने डिभिजन बन कार्यालय स्याङ्जाका प्रमुख नवराज वरालले जानकारी दिए ।