
वालिङ, स्याङ्जा –७ भदौ ।
“अब म सवैको अनुहार प्रष्ट देख्न सक्छु। यो मेरो जीवनकै सबैभन्दा ठूलो उपहार हो,” भन्छिन् वालिङ–१२ की ६७ वर्षीया तिलसरी नेपाली। मोतियाविन्दुका कारण झण्डै अन्धो जस्तै जीवन बिताइरहेकी उनी अहिले सफल शल्यक्रियापछि उज्यालो संसारमा फर्किएकी छिन्।
उनको मात्रै होइन, वालिङ नगरपालिकाको नेतृत्वमा सञ्चालन गरिएको आँखा शिविरले दर्जनौं नागरिकलाई जीवनमा फेरि उज्यालो देख्ने अवसर दिएको छ। नगरपालिका, हिमालय आँखा अस्पताल पोखरा र गह्रौ प्राथमिक अस्पतालको सहकार्यमा नगरका पाँच वडामा मोतियाविन्दु स्क्रिनिङ शिविर सञ्चालन गरियो।

वडा नम्बर ३, ७, ९, ११ र १२ मा तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा जम्मा ६९५ जनाको आँखाको परीक्षण गरिएको थियो। परीक्षणमा ९४ जनामा मोतियाविन्दु देखिएपछि तीमध्ये ८० जनाको सफल शल्यक्रिया वालिङ अस्पतालमै सम्पन्न गरियो।
वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. कृष्णा गुरूङ नेतृत्वको १३ सदस्यीय टोलीले सेवा दिएको थियो। “समुदायमै पुगेर उपचार सेवा दिनु हाम्रो अभियान हो। यी नागरिकको खुसी नै हाम्रो सन्तुष्टि हो,” चिकित्सक डा. तेजबहादुर गुरूङ भन्छन्।
शल्यक्रिया मात्र होइन, बिरामीलाई आवश्यक औषधी, चस्मा र परीक्षण सेवासमेत हिमालय आँखा अस्पतालले निःशुल्क उपलब्ध गराएको थियो।
वालिङ उपप्रमुख कविता तिवारी भन्छिन्, “समुदायमै पुग्ने, पहुँचबाहिरका नागरिकलाई सेवा दिने हाम्रो लक्ष्य हो। यस्तो शिविरले जनताको अनुहारमा मुस्कान ल्याएको छ।”
प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले शिविरले स्थानीय स्वास्थ्य सेवाको पहुँच र प्रभावकारिता दुबैलाई मजबुत बनाएको छ।

शिविर सफल मात्र होइन, प्रेरणादायी पनि बन्यो। वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमसख कमल पाण्डे भन्छन, “उज्यालो फर्केपछि फर्किएको आत्मविश्वास, खुसी हरेक बिरामीका अनुहारमा स्पष्ट देखिदा हामीलाई पनि आनन्द आउछ।”