
स्याङ्जा २७ साउन । नेपाल आदर्श क्याम्पसका संरक्षक तथा गल्याङ नगरपालिका–१० का पूर्व वडाध्यक्ष ध्रुव शर्मा पंगेनीले विद्यार्थीलाई ड्रागन फलको बिरुवा वितरण गरेका छन्।
व्यावहारिक ज्ञान, आत्मनिर्भरता र आधुनिक कृषि पद्धतिप्रतिको रुचि विकास गर्न उद्देश्यले पंगेनीले सो बिरुवा वितरण गरेका हुन्। ड्रागन फल जस्ता नयाँ जातका फलफूलप्रति चासो राख्ने पंगेनीले विद्यार्थीहरूलाई घरको कौशी वा छतमा रोप्न मिल्ने गरी बिरुवा प्रदान गरेका हुन्।
‘पढाइसँगै उत्पादनको ज्ञान आवश्यक छ’, उनले भने, ‘बालीको प्रयोगात्मक ज्ञानले आत्मनिर्भर जीवनशैलीमा सहयोग पुग्छ।’
पंगेनी विगत केही समयदेखि आफ्नै घरको कौशी र छतमा ड्रागन फलसहितका फलफूल तथा तरकारी उत्पादन गर्दै आएका छन्। उनी कृषिमा नवप्रविधिको प्रयोग गर्दै स्थानीय तहमा आत्मनिर्भरता र प्रेरणाको उदाहरण बनेका छन्।
बिरुवा वितरणसँगै विद्यार्थीहरूलाई ड्रागन फलको खेती प्रविधि, स्याहार र उत्पादनबारे आधारभूत जानकारीसमेत दिइएको थियो।