
गल्याङ नगरपालिका–५, सेतीवेणीको किनारमा बुधबार दिउँसो फेला परेको महिलाको झोला, चप्पल, मोबाइल र सात वर्षीय बालकको जुत्ता केवल वेवारिसे सामान मात्र थिएनन् , त्यो एक आमा र छोराको अज्ञात अवस्थाको मौन साक्षी थियो।
कालीगण्डकी गाउँपालिका–४ बिर्घा घर तथा बिहादी–५, उराम खोरपोखरा पर्वत माइती भएकी २७ वर्षीया श्यामकला पाण्डे आफ्नो छोरा अर्पित पाण्डेसहित बेपत्ता छन्। परिवारका अनुसार उनी बुधबार माइत पर्वत जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। उनले घरमा रहेका ससुरालाई वैंकमा समेत काम रहेकाले ढिला हुनसक्ने संकेत समेत गरेकी थिईन । उनले सेतीवेणीमा छोराका लागि खेलौना किनिन् र आफूसँग भएको नगद ५८ हजार ८ सय १० रुपैयाँ मिर्मीस्थित प्राइम बैंकमा जम्मा गरेको समेत वुझिएको छ । तर केही समयमै उनका सामान नदी किनारमा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरे।
प्रारम्भिक अनुसन्धान अनुसार, केही दिनअघि मिर्मीस्थित कालिगण्डकी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनको पाठेघरमा समस्या, पिसावसम्बन्धी समस्या र मानसिक स्वास्थ्यमा कमजोरी देखिएको खुलेको छ। मानसिक तनावकै अवस्थामा शारीरिक रोगको बोझ थपिँदा उनी बेचैन बनेको हुनसक्ने अनुमान कालीगण्डकी ४ का वडा अध्यक्ष यादव पाण्डेले गरेका छन्। पारिवारिक सम्बन्ध सामान्य रहेपनि, मानसिक पीडा भने गहिरो रहेको यो घटनाले देखाउँछ।
वडा अध्यक्ष पाण्डेका अनुसार उनी कम वोल्ने सज्जन स्वभावकी थिईन । उनी नजिकैको एक विद्यालयमा निजि स्रोतकी शिक्षिका समेत हुन । उनका श्रीमान वैदेशिक रोजगारीमा युएईमा छन् ।
यो केवल श्यामकलाको व्यक्तिगत पीडा मात्र होइन, हाम्रो समाजको एउटा गम्भीर रोगको लक्षण हो, मानसिक स्वास्थ्यलाई बेवास्ता गर्ने प्रवृत्ति। हामी शारीरिक रोग देख्दा उपचारको लागि दौडिन्छौं, तर मानसिक पीडाका संकेतहरूलाई हल्का रूपमा लिन्छौं। यसै कारण, बाहिरबाट मुस्कान देखाउने व्यक्तिहरू भित्रभित्रै भत्किँदै जान्छन्, र कहिलेकाहीँ यस्तो अप्रिय कदम चाल्न बाध्य हुन्छन्।
वुधवारदेखि प्रहरी र स्थानीयवासीले खोजी जारी राखेका छन्। तर हाम्रो खोज केवल उनी र उनका छोराको अवस्थासम्म सीमित हुनुहुँदैन। खोज्नु पर्ने कुरा हाम्रो चेतनाको स्तर हो, के हामी समयमै सुन्न, बुझ्न र सहयोग गर्न तयार छौं त यो प्रश्न समाजका लागि हो ।
यदि हामी अझै पनि मानसिक स्वास्थ्यलाई गौण राख्दै बस्यौं भने, भोलिका सेतीवेणीहरू अझ धेरै अधूरा कथाका साक्षी बन्नेछन्। समाजको संवेदनशीलता, परिवारको सहयोग, र स्वास्थ्य प्रणालीको तत्परताले मात्र यस्ता मौन रुदनलाई रोक्न सक्छ।
