
स्याङ्जा, साउन १६ — नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइराला साउन २० गते स्याङ्जा आउने भएका छन्। संविधानसभा सदस्य तथा नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति स्व. कमलप्रसाद पंगेनीको सातौं स्मृति दिवस र स्मृति प्रतिष्ठानको प्रथम अधिवेशनमा सहभागी हुन उनी स्याङ्जा आउन लागेका हुन्।
कार्यक्रम नेपाली कांग्रेस स्याङ्जा जिल्ला कार्यसमितिको आयोजनामा र भीरकोट नगर कार्यसमितिको व्यवस्थापनमा भीरकोट सिटिहलमा आयोजना हुने भएको छ। कार्यक्रमको तयारी पूरा भएको कांग्रेस स्याङ्जाका प्रवक्ता भरतप्रसाद लम्सालले जानकारी दिए।
कार्यक्रममा डा. कोइरालासँगै कांग्रेसका अन्य केन्द्रीय नेता, प्रदेश, जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी, पालिका र वडा प्रतिनिधि, जनप्रतिनिधि, शुभेच्छुकलगायतको उपस्थिति रहने छ।
वि.सं. २०१९ जेठ १९ गते स्याङ्जाको साविक खिलुङ्देउराली गाविस (हाल भीरकोट–६) मा जन्मिएका स्व. पंगेनीले २०३३ सालदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा प्रवेश गरेका थिए। उनी २०७० सालको संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ बाट विजयी भएका थिए भने २०६४ मा क्षेत्र नं. १ बाट पराजित भएका थिए।
तीन कार्यकाल नेपाली कांग्रेस स्याङ्जाका सभापति रहेका पंगेनी कुशल संगठक तथा स्पष्ट दृष्टिकोण भएका नेताका रूपमा चिनिन्थे। अन्तरजातीय प्रेम विवाह गरेका पंगेनीका एक श्रीमती, एक छोरा र एक छोरी छन्।
२०७५ साउन २० गते हृदयघातका कारण उनको असामयिक निधन भएको थियो। सोही समारोहका विच कमल पंगेनी स्मृति प्रतिष्ठानको अधिवेशन गर्ने समेत प्रतिष्ठानले जनाएको छ । हाल प्रतिष्ठानको अध्यक्ष लिला पंगेनी छन् । उनी स्वर्गीय पंगेनीका सहोदर दाजु हुन ।