स्याङ्जा, असार १४ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएसँगै स्याङ्जा जिल्लाबाट ३ हजार २ सय ३८ जना विद्यार्थी उत्तीर्ण भएका छन्। जिल्लाका चार जना मेधावी विद्यार्थीहरूले ४.०० जिपिए ल्याउँदै उत्कृष्ट सफलता हासिल गरेका छन्।
शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका अनुसार, ४ जिपिए ल्याउने विद्यार्थीहरूमा भगवती माध्यमिक विद्यालय, कालीगण्डकीका प्रतीक भट्टराई, पाईनिअर्स माध्यमिक विद्यालय, वालिङकी प्राप्ती काफ्ले, नेपाल आदर्श माध्यमिक विद्यालय, वालिङका अप्सन सुवेदी र चिल्ड्रेन एकेडेमी, अर्जुनचौपारीकी किञ्जल देवकोटा रहेका छन्।
जिल्लाबाट परीक्षामा कूल ४ हजार ९ सय ९३ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये साधारण नियमिततर्फ ३ हजार ५ सय ९८ जना, ग्रेड वृद्धि तर्फ १ हजार २ सय १० जना, प्राविधिक नियमिततर्फ १ सय ३५ जना र प्राविधिक ग्रेड वृद्धि तर्फ ५० जना रहेका थिए।
परीक्षा परिणामअनुसार, साधारण नियमिततर्फ २ हजार ४ सय २६ जना, साधारण ग्रेड वृद्धि तर्फ ६ सय ८४ जना, प्राविधिक नियमिततर्फ ९० जना र प्राविधिक ग्रेड वृद्धि तर्फ ३८ जना गरी कूल ३ हजार २ सय ३८ जना विद्यार्थी उत्तीर्ण भएका हुन्।
उत्तीर्ण दर विगत वर्षको तुलनामा मिल्दो देखिएको शिक्षा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिए । उनले परीक्षामा सहभागी भएका सबै विद्यार्थीको प्रयासको प्रशंसा गर्दै आगामी शैक्षिक यात्राका लागि सफलताका शुभकामना व्यक्त गरे ।
नतिजा सार्वजनिक भएसँगै विद्यार्थी, अभिभावक र विद्यालयहरूमा उत्साह देखिएको छ। उच्च जिपिए ल्याउने विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयहरूले सम्मान गर्ने तयारी गरेका छन्।
एसईई विद्यार्थीको विषय छनोट र करियर मार्गदर्शन अति महत्वपूर्ण हुने भएकाले विद्यालय, शिक्षक र अभिभावक सबैको भूमिकालाई सशक्त बनाउनुपर्ने आवश्यकता रहेको नेपाल आदर्शमा प्रिन्सिपल होमकान्त गौतमले वताए ।
प्राविधिक शिक्षा रोज्ने विद्यार्थीको संख्या उल्लेखनीय देखिनु आशाजनक पक्ष भएको शिक्षा इकाईको भनाइ छ। स्याङ्जा जिल्लाको समग्र नतिजालाई सन्तोषजनक मानिएको छ