स्याङ्जा, असार १२ – लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस २०२५ को अवसरमा स्याङ्जामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विहिवार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सभाहलमा आयोजित उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरी प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले लागूऔषध दुर्व्यसनले घर, परिवार र समाजमा पार्ने असर तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी दिएका थिए। उनले लागुऔषध सेवनका कारण आपराधिक गतिविधि, दुर्घटना, घरेलु हिंसा, सामाजिक द्वन्द्व र मानसिक समस्याहरू तीव्र रूपमा बढिरहेको उल्लेख गरे।
त्यसैगरी, प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईंले लागूऔषधको प्रयोगले मानसिक र शारीरिक स्वास्थ्यमा पर्ने गम्भीर असरबारे प्रस्तुति दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख खड्कराज सुवेदीले लागूऔषध नियन्त्रणका लागि परिवार, विद्यालय, समुदाय र प्रशासनबीचको सहकार्य अपरिहार्य रहेको बताए। उनले युवालाई सचेत गराउन अभिभावक र शिक्षकको भूमिकालाई विशेष जोड दिए।
कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले लागुऔषध दुर्व्यसनले व्यक्तिको स्वास्थ्य, सामाजिक प्रतिष्ठा र पारिवारिक सम्बन्धमा मात्र नभई राज्यप्रति जनअपेक्षामा समेत प्रतिकूल असर पार्ने बताए। “लागुऔषध दुर्व्यसनले अपराध, हिंसा, दुर्घटना र समाजमा विघटन निम्त्याइरहेको छ। यसका विरुद्ध सबै पक्ष मिलेर साझा प्रतिबद्धता जरुरी छ,” उनले भने।
कार्यक्रम सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले गरेका थिए। सप्ताहव्यापी अभियान अन्तर्गत जिल्लाभर विविध सचेतना कार्यक्रम सञ्चालन भइरहेका छन्।