स्याङ्जा, असार ८ ।
स्याङ्जा जिल्लाको प्रतिष्ठित शिक्षण संस्था नेपाल आदर्श माध्यमिक विद्यालय, वालिङले गण्डकी प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयबाट प्रदेशस्तरीय शैक्षिक उत्कृष्टता पुरस्कार प्राप्त गरेको छ।
माध्यमिक शिक्षा परीक्षा (SEE) २०८० सालमा संस्थागत विद्यालयतर्फ उत्कृष्ट नतिजा हासिल गरेको आधारमा उक्त विद्यालयलाई गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा आयोजित विशेष समारोहमा सम्मानित गरेको हो।
विद्यालयलाई नगद पुरस्कारसहित प्रदान गरिएको प्रमाण–पत्रमा “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता” भन्ने नारा उल्लेख गरिएको थियो ।
समारोहमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापा प्रमुख अतिथि रहनु भएको थियो भने शिक्षा विकास निर्देशनालयका महानिर्देशक अम्बिका प्रसाद आचार्यले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।
कार्यक्रम मन्त्रालयका प्रदेश सचिव प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैविच नेपाल आदर्श आवासीय माध्यमिक विद्यालयले नेशनल एजुकेशन एक्सलेन्स अवार्ड २०२५ वाट समेत सम्मानित भएको छ ।
फोकस नेपाल नामक संस्थाले काठमाडौंमा शनिबार उक्त अवार्ड प्रदान गरेको हो ।
माध्यमिकतहको गुणस्तर, पूर्वाधार र व्यवस्थापनमा उत्कृष्टता हाँसिल गरेको भन्दै गण्डकी प्रदेशको नेपाल आदर्श वालिङ र प्रतिभा मावि पोखरालाई नेशनल एजुकेशन एक्सलेन्स अवार्ड २०२५ ले सम्मान गरेको विद्यालयका प्रधानाध्यापक होमकान्त गौतमले जानकारी दिए ।
उक्त अवार्ड नेपाल सरकारका पूर्व अध्यक्ष एवम् पूर्व प्रधान न्यायाधिश खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा प्रदान गरिएको हो ।
अवार्ड देशको दुई दर्जन विभिन्न विधालयहरुलाई प्रदान गरिएको थियोे । अवार्ड प्राप्त गरेपछि शैक्षिक गुणस्तरमा अझै जिम्मेवारी बढेकाे विद्यालयकाे भनाइ छ ।