स्याङ्जा – जेठ २९ ।
सुनचाँदी व्यवसायमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा, जवाहरातमा मा लगाईएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायी संघ स्याङ्जाले पत्रकार सम्मेलन आयोजना गरेको छ। बिहीवार वालिङमा सम्पन्न सम्मेलनमा व्यवसायीहरूले हालको कर संरचनाले व्यवसाय धरापमा पर्ने भन्दै तत्काल पुनर्विचार गर्न सरकारसँग जोडदार माग गरेका छन्।
संघका अध्यक्ष लेखनाथ गहतराजले एउटै गहनामा विलासिता कर र भ्याट दुवै लागू हुँदा दोहोरो कर लाग्ने अवस्था उत्पन्न भएको बताउँदै, यस्तो प्रणालीले वैधानिक व्यवसायलाई घाटा पुर्याउने र अवैध तस्करीलाई प्रोत्साहन गर्ने धारणा राखे। उनका अनुसार देशभर २५ हजारभन्दा बढी व्यवसायी, ३ लाख कालीगढ़ तथा मजदुर र करिब १५ लाख आश्रित परिवार यसबाट प्रभावित हुने खतरा छ।
कार्यक्रममा नेपाल हस्तकला महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ, र नेपाल सुनचाँदी व्यवसायी महासंघको संयुक्त सहभागिता रहेको थियो। संघका अनुसार सुनचाँदी पसलहरू हाल बन्द गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएका छन्।
संघले अघि सारेका ६ प्रमुख मागहरूमा २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज, दीर्घकालीन व्यवसाय नीतिको निर्माण, भारत सरह ६ प्रतिशत भन्सार दर लागू, गुणस्तर प्रमाणीकरणको लागि अन्तर्राष्ट्रिय प्रयोगशाला, कर परिवर्तन अघि अध्ययन, र निर्यातमा लाग्ने २.५% TDS खारेज लगायत रहेका छन्।
कार्यक्रमको सञ्चालन रूद्र विश्वकर्माले गरेका थिए भने संघले यसअघि जेठ २५ गते जिल्ला प्रशासनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाइसकेको जनाएको छ।