वालिङ, वैशाख २५ । १६६ औं विश्व रेडक्रस दिवसको अवसरमा स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयमा विपद् व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। नेपाल जुनियर / युवा रेडक्रस सर्कल र विद्यालयको सहयोगमा आयोजना भएको सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल, ३० नं गुल्म हे.क्वा स्याङ्जाले सहजीकरण गरेको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक लिला बहादुर भुजेलले विपद् सम्बन्धी तालिम सत्र सञ्चालन गरेका थिए भने, सशस्त्र प्रहरी निरीक्षक मीन बहादुर केसीको नेतृत्वमा आगलागी न्यूनिकरणका सम्बन्धमा डेमो प्रदर्शनी गरिएको थियो।
जिल्ला रेडक्रस स्याङ्जाका युवा रेडक्रस संयोजक विष्णु सुवेदीले जिल्लाका विविध रेडक्रस गतिविधिहरूको बारेमा जानकारी दिएकी थिईन ।
कार्यक्रममा शिक्षक नायक यज्ञ पुरूष रिजालले स्वागत गरेको कार्यक्रममा विद्यालय नर्स प्रविना सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। विद्यालयका निमित्त प्रधानाध्यापक र नेजुरेस संरक्षक दीपक लम्सालले धन्यवाद ज्ञापन गर्दै उपस्थित सबैलाई मायाको चिनो प्रदान गरेका थिए ।
हरेक वर्ष मे ८ मा मनाइने विश्व रेडक्रस दिवस यस वर्ष ‘मानवतालाई जीवित राख्ने’ भन्ने नारासँग मनाइएको छ। पूर्णामृत भवानी माविमा रहेको नेपाल जुनियर/युवा रेडक्रस सर्कलले वृक्षारोपण, सरसफाइ, किशोर-किशोरी तालिम, लैङ्गिक हिंसा विरुद्ध सचेतना लगायतका विविध कार्यक्रम सञ्चालन गर्दै आएको पूर्वप्रमुख विष्णु प्रसाद अर्यालले जानकारी दिए ।