पोखरा, २५ वैशाख। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत जेठको पहिलो साताबाट राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा हुने प्रतियोगिता संयोजक डा. तुलसी प्रभास खनालले प्रतियोगिता सम्बन्धी जानकारी दिएका हुन्।
उनका अनुसार प्रतियोगितामा देशभरका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्। यसमा एसईई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थीले पनि भाग लिन पाउनेछन्।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार १ सय ५१ रुपैयाँ, द्वितीयलाई ४१ हजार १ सय ४१, तृतीयलाई ३१ हजार १ सय ३१ र सान्त्वना पुरस्कार स्वरूप २१ हजार १ सय २१ रुपैयाँसहित सम्मान प्रदान गरिनेछ।
डा. खनालका अनुसार प्रतियोगितामा देशका ख्यातिप्राप्त पब्लिक स्पिकरहरूले विशेष प्रवचन र मोटिभेसन दिने कार्यक्रम पनि समावेश गरिएको छ।
प्रतियोगितामा अतिथि वक्ताका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त वाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी र नवलपुरकी मनिषा पौडेल रहनेछन्। उनीहरूलाई विशेष सम्मानसमेत गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको मूल्याङ्कन ख्यातिप्राप्त व्यक्तिहरूबाट गरिनेछ।
कास्की बाहिरबाट सहभागी हुने विद्यार्थीका लागि आवतजावतको खर्च र बसोबासको व्यवस्था गरिएको छ। इच्छुक विद्यार्थीले वैशाख मसान्तसम्म नाम दर्ता गरिसक्नुपर्नेछ। हालसम्म काठमाडौं, जुम्ला, रुकुम, रोल्पा, बाँके, बर्दिया, झापा, धादिङलगायत जिल्लाबाट ५० भन्दा बढी विद्यार्थीले नाम दर्ता गराइसकेको संयोजक खनालले जानकारी दिए।
वक्तृत्वकला प्रतियोगिताको समय ७ मिनेट निर्धारण गरिएको छ भने प्रस्तुत विषय सकारात्मक सन्देशमूलक हुनुपर्नेछ। एक विद्यालयबाट जतिसुकै विद्यार्थी सहभागी हुन सक्नेछन्।
डा. खनालले भने, “हाम्रा परम्परा, धर्म र संस्कृतिलाई आजका युवासँग जोड्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। धर्म, संस्कृति र शिक्षालाई समेट्दै कोटिहोमलाई सबैको अपनत्व हुने स्थल बनाउने उद्देश्यसहित प्रतियोगिता गरिएको हो।”
कोटिहोममा विविध धार्मिक कार्यक्रम
श्री गण्डकी कोटिहोम महायज्ञका संकल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले गण्डकी कोटिहोमलाई अध्यात्म, विज्ञान र सेवाको संगम भएको बताउँदै पुण्यस्थल दर्शनका लागि कोही नछुट्न आह्वान गरेका छन्।
कोटिहोममा यही वैशाख २७ गते शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजारभन्दा बढी बालिकालाई सहभागी गराएर विशेष पूजा गरिने प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।
उनका अनुसार ७० वर्षभन्दा माथिका एक हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिनेछ। वैशाख २९ गते चौरासी पूजन, सवा करोड पार्थिव शिवलिङ्ग निर्माण, १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ श्रवण, भूमि पूजन, पितृ उद्धार, तुला दान, शुभविवाह कार्यक्रम, रुद्राभिषेक लगायतका महत्वपूर्ण धार्मिक कार्यक्रम हुनेछन्।
कोटिहोममा ४ सयभन्दा बढी ब्राह्मणले दैनिक आहुति अर्पण गरिरहेका छन्। हवन कुण्डका लागि जौ, तिल, घिउलगायत सामग्री दान गर्न र कुण्डको परिक्रमा गर्न सकिने व्यवस्था गरिएको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए। कोटिहोममा धार्मिक विधिअनुसार सामूहिक व्रतबन्ध कार्यक्रम पनि भइरहेको छ।
वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी र दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराजको प्रवचन रहने सह–निर्देशक युवक लामिछानेले जानकारी दिए।
कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता, रामायण प्रवचन, कथा वाचन, झाँकी, देवलीला र नृत्य प्रस्तुत भइरहेका छन्। पोखरा–१७ स्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासको स्थानमा सञ्चालन भइरहेको कोटिहोम जेठ २६ गतेसम्म चल्नेछ।
संघीय तथा प्रदेश सांसद, जनप्रतिनिधि, राजनीतिक दलका नेता, सञ्चारकर्मी र भक्तजनहरूको उपस्थिति दिनप्रतिदिन बढिरहेको छ।