स्याङ्जा–२५ माघ ।
बजारमा वस्तुको विक्रि पसलपिच्छे फरक दररेट फेला पारेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जा व्यवसायी प्रति आक्रमक भएको छ । केहीदिन अघि जिल्ला सदरमुकाम स्याङ्जामा फोटो प्रिन्ट गर्दा व्यवसायीले महङ्गो रेटमा विक्रि गर्न खोजेपछि उपभोक्ताले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गरेपछि जिल्ला प्रशासन कार्यालयले तिन दिन भित्र दररेट पेश गर्न सम्वन्धित व्यवसायीलाई निर्देशन दिएको छ ।
शुक्रवार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख शालिकराम शर्मा, फोटोग्राफर व्यवसायी, लेखापढी व्यवसायी, अनलाईन तथा साईवर व्यवसायी, उपभोक्ता अधिकार मंच र नेपाल पत्रकार महासंघ सहितको संयुक्त वैठक बसी हाल उपभोक्ताको गुनासोका आधारमा सम्वन्धित व्यवसायीहरू, फोटोग्राफर, स्टेशनरी, साईवर, लेखापढी व्यवसायीका समितिहरूलाई तिन दिन भित्र जिल्ला प्रशासन कार्यालय स्याङ्जामा मूल्य सूचि पेश गर्न प्रमुख जिल्ला अधिकारी नेपालले निर्देशन दिएकी छन् ।
वैठकमा जिल्लाका बजारमा व्यवसायीहरुले सेवाग्राही संग लिने मूल्यमा एकरुपता ल्याउने र कारोवारको दर्ता नगरी सन्चालनमा रहेका व्यवसायीहरुलाई १० दिन भित्र दर्ता गर्न समय सिमा समेत तोकिएको छ । भने जिल्लाका भित्रि सडकमा सन्चालन हुने सवारी साधनमा समेत अनिवार्य भाडादरको सूचि टाँस गर्ने विषयमा निर्णय भएको थियो ।
वैठक पछि प्रमुख जिल्ला अधिकारी नेपालले यसपछि लगत्तै बजार अनुगमनलाई तिव्रता दिने समेत जानकारी दिएकी छन् । बजारमा वस्तुको मुल्य सूचि र व्यवसाय दर्ताको प्रमाणपत्र अग्रभागमा सबै ग्राहकले देखिनेगरी टाँस्न सबै व्यवसायीलाई आग्रह गरेकी छन् ।