हिमदुत ९ माघ । स्याङ्जामा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले समसामयिक विषयमा जिल्लामा क्रियाशिल पत्रकारहरू संग अन्तरक्रिया गरेकी छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी र सदस्यहरूसंग परिचयात्मक कार्यक्रम सहित अन्तरक्रिया कार्यक्रम वुधवार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा भएको हो ।
कार्यक्रममा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय बाट हुने सेवा प्रवाह, विपत व्यवस्थापन र राहतको अवस्था, सूचनाको हक र कार्यन्वयनको अवस्था, स्थानीयतस्तरमा हुने गरेका विकास निर्माणमा भैरहेका गतिविधि र यातायातका क्षेत्रमा देखिएका समस्या तथा चुनौतिका विषयलाइ उठान गरेका थिए । भने सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जिल्ला प्रशासन कार्यालयले सम्पादन गरेका कार्यहरूको विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेपालले पत्रकारहरुले समाजमा लुकेर रहेका समस्या, विकृति र विसंगतिलाई उजागर गर्दै सभ्य समाज निर्माणमा अहम भुमिका निर्वाह गरेको वताएकी छन् । प्रशासनले समाजमा सुशासन कायम गर्न कुनै कसर बाँकी नराखेको भन्दै प्रजिअ नेपालले प्रशासनले स्थानीय पालिकाहरू संग शान्ति सुरक्षाका विषयमा अन्तरक्रिया, प्रत्येक महिनामा बजार अनुगमन गर्ने, मनसुन जन्य बिपदमा परेको हकमा राहत, उद्धार र पुनर्निर्माणको काममा जुटेको जानकारी दिएकी छन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले प्रशासन र पत्रकार मिलेर समाजमा रहेका विकृति र विसंगती न्यूनिकरण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीले जिल्ला, प्रदेश र केन्द्रमा हालै निर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेकोमा आभार व्यक्त गरेका थिए ।