वालिङ-१६ कात्तिक । सडक नाटक मार्फत कुलतमा फसेका घटनाक्रमको उजागर गर्दै वालिङ ११ वालशिक्षा निकेतन आधारभूत विद्यालयका वालवालिकाद्वारा निर्माण गरिएको सडक नाटक पहिलो पटक समुदायमा प्रस्तुत गरिएको छ ।
सिर्जनात्मक माध्यमबाट स्कुलहरूका विद्यार्थी युवाहरू लागुऔषध दुर्व्यसनमा फस्ने गरेका घटनाक्रम प्रस्तुत गर्दै सचेतना बढाउने उद्देश्यका साथ निर्माण गरिएको नाटक शुक्रवार वालिङ ११ स्थित कागतीभञ्ज्याङमा एक ओैपचारिक समारोहका विच प्रदर्शन गरिएको हो । वालिङ नगरपालिकाका विभिन्न विद्यालयमा प्रदर्शनी गरेपछि अनुवन्धनका लागि नगरपालिका हुँदै राष्ट्रिय स्तर सम्म पुर्याउने लक्ष लिएको नाटकका लेखक तथा निर्देशक शिव न्यौपानेले जानकारी दिए ।
कुलतको प्रभाव शिर्षकमा निर्माण गरिएको नाटकले वर्तमान समाजमा लागुओैषध जस्ता कुलतले पारेको प्रभावलाई यथार्थ चित्रण गर्न खोजिएको छ । नाटकका पात्र वालशिक्षा निकेतन आधारभुत विद्यालयका विद्यार्थीले कासी र विजुलीको परिवारमा कुलतले पारेको प्रभाव नाटकीय प्रस्तुतीमा चित्रण गरेका छन् ।
नाटक गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापती भोजराज अर्याल, प्रदेश साँसद कल्पना तिवारी लगायतको उपस्थितिमा प्रस्तुत गरिएको थियो । प्रमुख अतिथी अर्यालले समाजलाई रूपान्तरण गर्न आफै रूपान्तरित हुनुपर्ने बताए । उनले कस्तो हुन्छ भनेर साथीको सगतमा युवाहरूले लागुपदार्थ टेष्ट गर्दा युवाहरू दुर्व्यसनीको सिकार भएको बताउँदै वालवालिकाको सचेतना अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रदेश साँसद कल्पना तिवारीले समाजमा यस्ता खालका विकृति फैलिदो रहेकाले यसलाई नियन्त्रण गर्न सचेतना आवश्यक रहेको वताईन । वालशिक्षाका भाईवैनीको प्रस्तुतीले कुलत जस्ता घटनाले परिवार मात्र नभई समाज विग्रिएको उदाहारणको चित्रण गरेको वताईन ।
विद्यार्थीहरूलाई लागूपदार्थको असर र बाबुआमाले छोराछोरीको भविष्यका लागि दिनप्रतिदिन गरेको दुःख कष्टलाई नाटक मार्फत चरितार्थ गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अर्यालले जानकारी दिए । विद्यालयमा नियमित पठनपाठन लगायत यस्ता श्रृजनालाई समेत प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाका कार्यवहाक सभापती केदार काफ्ले, वालिङ नगर सभापती नेत्रप्रसाद पाण्डे, वडा अध्यक्ष डण्डपानी पंगेनी, वडा सदस्य आनन्दकुमार खाँण, समाजसेवी, विद्यालयका शिक्षक, पूर्व शिक्षक, पत्रकार र समुदायका अभिभावकहरूको उपस्थिति थियो ।