हिमदुत- १५ कात्तिक । नगरपालिका शिक्षा समितिले कानून विपरित शिक्षक सरूवा प्रकरणको मुद्दा अदालत सम्म पुगेको छ ।
शिक्षक सरूवा निर्देशिका २०८१, स्थानीय सरकार सन्चालन ऐन र वालिङ नगर शिक्षा ऐन लाई गलत व्याख्या गरेर शिक्षक सरूवा गरेपछि उत्पन्न विवाद उच्च अदालत सम्म पुगेको हो ।
वालिङ १ खहरे स्थित रणविर जनहित मा.वि का अंग्रेजी विषयका स्थायी शिक्षक कमलराज लम्साललाई महेन्द्र मा.वि जगतभञ्ज्याङमा प्रधानाध्यापकको जिम्मेवारी सहित र महेन्द्र मा.वि का पूर्व प्र.अ अर्जुन प्रसाद पोख्रेललाई रणविर जनहित मा.विमा सरूवा गरेपछि रणविर जनहितका व्यवस्थापन समितिका ९ जना मध्ये ६ जना सदस्यले हस्ताक्षर गरि सरूवा सच्चाउन माग गर्दै वालिङ नगरपालिकामा उजुरी गरेका थिए ।
उक्त उजुरीको वेवास्ता गर्दै जवरजस्ती विवादित शिक्षक पोख्रेललाई रणविरमा हाजिर गराएपछि विवाद अदालतसम्म पुगेको स्थानीय सरोकारवालाले वताएका छन् ।
नगरपालिका शिक्षा समिति राजनितीवाट अलग हुनुपर्ने जिकिर गर्दै राजनीतिमा कृयाशिल रहेका र प्रअ समेतको जिम्वेवारीवाट समितिमा प्रतिनिधित्व गरेका समितिका सदस्यलाई समेत समितिवाट हटाउन माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेको निवेदक पुष्पकमल रेग्मीले जानकारी दिए । वेथितिले जरा गाडेपछि शिक्षा क्षेत्र जस्तो सम्वेदनशिल क्षेत्रमा राजनैतिक आग्रह पूर्वाग्रहले वालिङका विद्यालय विग्रदै गयो त्यसैले न्यायका लागि अदालत पुगेको उनले वताए ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका रणविर जनहित माविका प्र.अ लक्ष्मी प्रसाद रेग्मी र वालिङ नगरपालिका शिक्षा शाखा प्रमुख खेमनारायण काफ्लेको मिलेमोतोमा सरूवा गरिएको आरोप छ । रिटमाथि हिजो १४ गते वहस भएको थियो । माननीय न्यायाधीश मिलन कुमार राईको ईजलाशवाट उक्त रिट माथि कारण देखाउ आदेश जारी भएको छ । आगामी २७ गते दुवै तर्फको वहस सुनेपछि अर्को आदेश हुनेछ ।