स्याङ्जा १० असार ।
वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ / ८२ को लागी ८६ करोड ४७ लाख २१ हजार ५ सयको बजेट सार्वजानिक गरेको छ । १६ औँ नगरसभामा नगरप्रमुख कृष्ण खांणले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नगर प्रमुख खाँणद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य शिक्षा र पूर्वाधार विकासमा जोड दिइएको छ । नीति तथा कार्यक्रममा नगरपालिकामा पर्यटकीय पूर्वाधार विकास गर्न आँधीखोला जलाशय, वाहुनथान गहौकालिका मन्दीर लगायतका पर्यटकीय क्षेत्रको विकासका लागि योजना अगाडी सारिने नीति तथा कार्यक्रम सार्वजानिक गरिएको छ ।
आगामी आर्थिक वर्षमा नगरले मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने अभिप्रायले जिवनशैली प्रर्वद्धन, भान्सा सुधार तथा ४० वर्ष नाघेकाका नागरिकलाई नसर्ने रोगको न्युनिकरणका लागी सामुदायिक नर्स तथा विद्यालय नर्स कार्यक्रम कार्यान्वयन गर्ने, महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई सुनौलो अवकास योजना, मेयरसंग जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रमलाई निरन्तरता दिने नगरप्रमुख खांणले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै निति तथा सरकारी स्वास्थ्य संस्थाहरुबाट निस्कने मेडिकल जन्य फोहोरहरुको उचित व्यवस्थापन गरिने, योग अभ्यास र पञ्चकर्मलाई प्रूाथामिकता दिने उल्लेख छ ।
उपमेयरसंग पोषिलो झोलालगायतका स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण निति लिएको छ । त्यस्तै शिक्षामा विद्यालयलाई प्रविधिमैत्रि बनाईने, उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने, विद्यालयलाई बालमैत्रि र अपांगमैत्रि बनाईने उल्लेख छ त्यस्तै एक वडा एक खेलमैदान, मेयर उपमेयर कप खेलकुद प्रतियोगिता, कमाउँदै पढदै कार्यक्रम, सरकारी कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका छोराछोरीलाई सामुदायक विद्यालयमा पढाउन प्रोत्साहन गरिने, शिक्षकहरुलाई राजनितिक दलसंग अवद्ध हुन नपाउने व्यवस्था कडाईका साथ लागू गरिने, कृषि तथा पशुपालनमा अनुदानका कार्यक्रमलाई निरन्तरता दिने, मासु, अण्डा उत्पादनमा प्रोत्साहन गरिने, कृषि एम्भुलेन्सको व्यवस्था गर्ने, नगरपालिकाका सेवालाई प्रविधिमैत्रि बनाईने, विदेशी पर्यटकलाई वालिङमा कम्तीमा दुईदिन बस्ने वातावरण मिलाउने, नगरभित्रका योजनाहरु महिला उपभोक्तामार्फत कार्यान्वयनलाई प्राथामिकता दिने उल्लेख गरिएको छ ।
कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८१ / ८२ का लागि ८६ करोड ४७ लाख २१ हजार ५ सयको बजेट प्रस्तुत गरिएको छ ।
प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षका लागी आन्तरिक स्रोत ६ करोड, संघीय वित्तिय समानीकरण अनुदान १५ करोड १० लाख, संघिय सरकार राजस्व बाँडफाँड १ करोड ५७ लाख २६ हजार, प्रदेश सरकार समपुरक अनुदान १ करोड, राजस्व बाँडफाँड १ करोड ५७ लाख २६ हजार, घरजग्गा रजिष्टेशनबाट १ करोड, विज्ञापन करबाट ६१ लाख ९८ हजार गरी ८६ करोड ४७ लाख २१ हजार ५ सयको आय प्रक्षेपण गरिएको छ । व्यय तर्फ आर्थिक विकासमा ५ करोड, सामाजिक विकासतर्फ ५ करोड पुर्वाधार विकासतर्फ ९ करोड, सुशासन तथा अन्तर सम्बन्धीत क्षेत्रतर्फ २ करोड, विपद तर्फ १ करोड न्यायिक तर्फ १८ लाख प्रशासनमा १ करोड, कार्यालय संचालन तथा प्रशासकिय तर्फ ८ करोड, शसर्त अनुदान तर्फ ४२ करोड ४७ हजार रहेको छ ।
नगरसभामा विभिन्न विकास समितिका संयोजकहरुले आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।