स्याङ्जा १० असार ।
स्याङ्जाको चापाकोट नगरपालिकाको १५ औं नगरसभा सम्पन्न भएको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०८१÷ ८२ का लागि ७२ करोड ९१ लाख ९५ हजार बराबरको बजेट पारित गरेको छ ।
आइतबार उपप्रमुख इशा रानाले नगर सभाको १५ औं अधिवेशनमा चालु तर्फ ४४ करोड ९२ लाख ५० हजार र पूँजीगततर्फ २७ करोड ९९ लाख ४५ हजार बजेट अनुमान गरिएको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख रानाले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिदै पर्यटन, कृषि, पशुपंक्षी विकास, मानव संसाधनको विकासका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको वताइन।
बजेटमा उल्लेख भएअनुसार चापाकोट नगरपालिकाले स्वास्थ्यमा डिजिटलाईजेशन, साँखरमा बर्थिङ सेन्टर, कृषि क्याम्पस व्यवस्थापन र चापाकोट क्याम्पसको स्तरोन्नतीका लागि बजेट विनियोजन गरिएको रानाले जानकारी दिइन् । समग्रमा भौतिक पूर्वाधार विकास गरी चापाकोटको दिगो विकासमा बजेटले जोड दिएको छ ।