शीखा डाँगी :
नेपाल क्षेत्रफलको हिसाबले विश्वको ०.०३ प्रतिशत भु–भाग ओगटेको भएतापनि जैविक विविधताको हिसावमा भने १.३ प्रतिशत भाग ओगटेको पाइन्छ। झण्डै २२ हजार भन्दा बढि प्रजातिका वनस्पति तथा वन्यजन्तु पाइने नेपाल, यसको अनौठो भूवनावट र हावापानीका कारण जैविक विविधताको हिसावले धनी देश बन्न पुगेको हो।
हरियो वन, नेपालको धन त हो नै, यो विश्वमै दुलर्भ मानिने विभिन्न जीवजन्तु जस्तै एक सिङ्गे गैडा, एसियाली हात्ती, पाटे बाघ, हिम चितुवा आदिको सुहाउदो घरपनि हो।जैविक विविधताको संरक्षणलाई चासोको विषय बनाएर नेपाल सरकारले हालसम्म २० वटा संरक्षित क्षेत्र ब्यवस्थापन गर्दै आएको छ । जुन कार्य एकदमै सराहनीय पनि छ। विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय सरकारी तथा गैर सरकारी संस्थाको सहकार्यमा नेपाल सरकारले संरक्षणका कार्यहरू अगाडि बढाइरहेको छ र १० वर्षकै अन्तरालमा पाटे बाघको संख्या दोब्बर गरेर संरक्षणको क्षेत्रमा नयाँ कृतिमान कायम गर्न सफल पनि भएको छ।
तर सफलता बढेसँगै चुनौतीहरु पनि बढ्दै गएका छन् । जस्तोकि वन्यजन्तुको बसस्थानमा ह्रास आउनु, चोरी शिकारी वढ्नु, जलवायू परिवर्तन र बाह्य मिचाहा प्रजातीका वनस्पतीहरु वन्यजन्तुको वास्थानमा फैलदै जानु अदि समस्याले वन्यजन्तु संरक्षणमा ठूलो चुनौती हाम्रा सामु आएको छ । अन्य समस्याहरूमा नेपाल सरकारको ध्यान पुगिराखेको भएपनि यस्ता बाह्य मिचाहा प्रजातीको प्रकोप भने नौलो र कम चासोको विषय बन्दै आएको छ । तर, यसका असरहरु निकै गम्भीर रहेका कैयौं वैज्ञानिक खोज र अध्ययनले देखएका छन् ।
बाह्य मिचाहा प्रजाती भन्नाले मानिसको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोगमा आफ्ना रैथाने क्षेत्र भन्दा बाहीर पुगेका प्रजातीहरु भन्ने बुझिन्छ । यस्ता खालतका वनस्पती त्रिव्र गतिमा ठुलो क्षेत्रमा फैलिएर रैथाने जैविक विविधता, पर्यावरण, अर्थतन्त्र, कृषि उत्पादन, स्वम मानव जीवनमा समेत हानिकारक असर पार्ने गर्दछन्। एक ठाउँका मिचाहा प्रजाती आर्को ठाउँका रैथाने हुने गर्छन्। जस्तो कि ऐंसेलु र गिठ्ठा नेपालका लागि रैथाने हुन भने अमेरिकाका लागि मिचाहा प्रजाति हुन् र काडे वनमारा, जलकुम्बी नेपालका लागि मिचाहा हुन् भने अमेरिकाका लागि रैथाने हुन् । यस्ता मिचाहा प्रजातीहरु विश्वमा जैविक विविधतामा ह्रास आउनुका मुख्य पाँच कारण मध्यको एक कारण पनि हुन । र नेपालमा अहिलेसम्म २९ प्रजातीका बाह्य मिचाहा बनस्पति पाइएका छन् । जस मध्य पाँचवटा वनस्पति विश्वमै सबैभन्दा समस्या दिने मिचाहा वनस्पतिको सुचिमा एक सय नंवरमा सुचीकृत रहेका छन् ।
नेपालका २० संरक्षित क्षेत्रमा गरिएको एक अध्ययनले १६ संरक्षित क्षेत्रमा मिचाहा प्रजाति पाइएको र केहि संरक्षित क्षेत्रमा प्रकोप भने नकारात्मक रहेको देखाएको छ। विसं २०२३ मा चितवन राष्ट्रिय निकुञ्जमा भएको गैंडा गणनाको तथ्याङ्क अनुसार लहरे वनमाराले गैंडाको ३५ प्रतिशत बासस्थान विनास गरिसकेको देखाएको छ । यसको फैलने क्रम जारीनै रहेको छ । यो त एउटा उदाहारण मात्र हो, यसरी बसस्थानको विनासका कारणअन्य धेरै वन्यजन्तु संकटमा परेका छन् भने जलवायू परिवर्तनका असर बढेसँगै तिनिहरुको प्रकोप समेत झन् बढ्दो अवस्थामा रहेको छ।
वन्य जन्तु संरक्षणका निम्ति तिनिहरुको बासस्थानको संरक्षण हुन एकदमै जरूरी हुन्छ। मिचाहा वनस्पतिले प्रत्यक्ष रूपमा वन्य जन्तुलाई त्यति असर नपुर्याउने भएता पनि उनीहरुको आहारा, बस्ने वास्थानको विनाश गर्ने गर्छन जसले गर्दा यो वन्यजन्तु संरक्षणको क्षेत्रमा ठुलो समस्या बन्न पुगेको छ। यति समस्या देखा परि सुक्दापनि नेपाल सरकारले भने यो विषयमा एकदमै कम चासो देखाएको पाइन्छ । वन्यजन्तु संस्क्षणका हितमा धेरै नियम कानुन तथा योजना बनिसक्दापनि यो विषयमा भने प्रभावकारी योजना बनेका छैनन् ।
एकतिर यस्ता वनस्पतिको प्रकोप बढ्दो छ अर्को तिर कुनै वैज्ञानिक खोज अनुसन्धानबाट ब्यवस्थापनका उपायहरू पता लगाइ कार्यन्वयन हुने काममा सरोकारवालाको चासो नगन्य छ जसले गर्दा वन लगायत वन्यजन्तु दुवै संकटको मुखमा पुगेका छन् । फेरि बाह्य मिचाहा वनस्पति नेपालका रैथाने नभई अन्य ठाउँका भएका हुनाले यस्ता वनस्पतीको उचित व्यवस्थापनको विधि नअपनाउँदा झनै फैलनसक्ने जोखिम छ । यस कारण उचित व्यवस्थापनको लागी खोज अनुसन्धानमा विशेष चासो दिनु जरुरी छ।
अहिलेसम्म आइपुग्दा समस्या बढेको त छ, तर हातबाट फुस्की सकेको भने छैन । अझै मिचाहा प्रजातीलाई भित्रिन नदिने, सानो क्षेत्रमा मात्र फैलेका मिचाहा बनस्पतिलाई जरैबाट उखेलेर फाल्ने, ठूलो क्षेत्र ओगटेका मिचाहा वनस्पतिलाई उचित व्यवस्थापन गरि नयाँ ठाउँमा फैलनबाट रोक्न सकियो भने त्यस्ता मिचाहा बनस्पतिबाट छुट्कारा पाउन सकिन्छ । उचित व्यवस्थापनको कारणले गर्दा अन्य राष्ट्रहरुले यो समस्याबाट सफलता पूर्वक छुट्कारा पाएको उदाहरण हामी सँग थुप्रै छन् । अबको पालो नेपालको रहने छ। तिव्र गतिमा मिचाहा वनस्पतिको व्यवस्थापन गरि पारिस्थिति र प्रणालीलाई स्वच्छ स्वस्थ राख्न नेपाल सरकार अग्रसर रह्यो भने समयमै वन्यजन्तुको संरक्षण पक्कै सम्भव छ । तर, अव पनि समस्यालाई वेवास्ता गरी लापरबाही गरियो भने हामीले जैविक विविधताको धनी देश भनेर गर्ब गर्ने कुनै ठाउँ बाँकी रहनेछैन।
वन्यजन्तुको बसस्थानमा ह्रास आउनु, चोरी शिकारी वढ्नु, जलवायू परिवर्तन र बाह्य मिचाहा प्रजातीका वनस्पतीहरु वन्यजन्तुको वास्थानमा फैलदै जानु अदि समस्याले वन्यजन्तु संरक्षणमा ठूलो चुनौती हाम्रा सामु आएको छ ।
लेखक वन विज्ञान अध्यायन संस्थान, पोखरामा स्नातक तह तेस्रो वर्षका विद्यार्थी हुन ।