भीरकोट । विश्व उच्च रक्तचाप दिवस भीरकोटले पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । यस दिवसका अवसरमा भीरकोटले नसर्ने रोग र मानसिक स्वास्थ्य सम्वन्धि अभिमुखिकरण एवम् चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । जिल्लाभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर उच्च रक्तचाप दिवस मनाईएको छ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने भीरकोट नगर अस्पतालका प्रमुख डा. राजीव झा बताउँछन् । अहिले २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ ।
भीरकोटमा भएको कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले रक्तचापको समस्याबाट जोगिन नियमित शारीरिक व्यायम गर्नुको साथै नियमित खानपानमा ध्यान दिनका लागि सबैलाई अनुरोध गरे । स्वास्थ्य शाखा प्रमुख अञ्जु सापकोटाको स्वागत सँगै सुरु भएको कार्यक्रमको संचालन अहेव श्रीराम अर्यालले गरेका थिए भने तालिमको सहजीकरण डा. झाले गरेका थिए । कार्यक्रममा सहभागीहरुले रक्तचाप नियन्त्रणमा राखौ, दिर्धायु बाचौ । रक्तचापको नियमित जाँच, उच्च रक्तचापको नाश लगायतका सचेतनामुलक प्लेकार्ड र ब्यानर सहित बयरघारी बजार परिक्रमा गरेका थिए ।