प्रदिप कोइराला
स्याङ्जा २५ चैत्र । स्थानीय सरकार को रुपमा रहेको नगरपालिका र गाँउपालिकामा हुने आर्थिक अनियमितता र अख्तियार दुरुपयोगका घटनाहरु वढदै जान थालेपछि नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाहरुमा पालिका स्तरिय अन्तरक्रिया कार्यक्रमहरु सन्चालन गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय गण्डकी प्रदेश पोखराले आइतवार वालिङ नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम संचालन गरेको हो ।
स्थानीय सरकारले चरम आर्थिक अनियमितता, बेथिति भ्रष्टाचारमा लिप्त हुन थालेपछि समयमै सचेत गराउने उदेश्यले पालिका स्तरमा छलफल अन्तरकृया कार्यक्रम गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका उपसचिव नविन शर्माले जानकारी दिए । सुशासनको बाधक भ्रष्टाचार भएको वताउदै शर्माले नागरिक समाज समेत चनाखो भएर भ्रष्टाचार नियन्त्रणमा चनाखो हुनुपर्ने वताए ।
कार्यक्रममा भ्रष्टाचार रोकथाम सम्बन्धी उपसचिव शर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले भ्रष्टाचार नियन्त्रणमा अख्यितारले पालिका स्तरमा भष्ट्राचार बिरुद्धको कार्यक्रम संचालन गर्नथालेपछि स्थानीय तहमा हुने उच्च भ्रष्टाचारको दर घट्ने अपेक्षा गरिएको वताएका थिए ।
उपसचिव शर्माले प्रस्तुत गरेको प्रतिवेदन अनुसार अख्तियारमा उजुरी पर्ने कारणहरुमा शासन व्यवस्था फेरिएपनि उस्तै कार्यशैलि, न्युन स्रोत साधनमा असिमित अपेक्षाहरु पुरा गर्नुपर्ने, काममा दोहोरोपना, तीन तहको सरकारबीच समन्वय र सहकार्य कमजोर रहनु, स्थानीय तहका जनप्रतिनिधिको कार्यशैलिमा स्वेच्छाचारिता, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण जस्ता सुशासनका औजारहरुको वास्तविक प्रयोग नहुनु लगायतले अख्तियारमा उजुरी दिनेको संख्या बढ्न गएको अनुमान लगाइएको छ । कतिपय उजुरीहरु रिसिवीका कारण पनि पर्नेगरेको प्रतिवेदनमा उनले उल्लेख गरेका छन् ।
अख्तियार दुरुपयोग आयोगमा कसरी भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता गर्ने, कस्ता कार्य कानुनत भ्रष्टाचार हुन्, यसका कानुनी उपचार, सजाँय, पालिकामा कसरी नितीसम्मत योजनाहरु सम्पन्न गरी भ्रष्टाचार मुक्त र सुशासन युक्त बनाउन सकिन्छ भन्ने बिषयमा सहजिकरण गरेका थिए ।
अख्तियार दुरुपयोग आयोगमा आर्थिक वर्ष २०७९ / ८० कुल २८ हजार ६७ उजुरी परेकोमा १८ हजार ७ सय ९९ उजुरी फछ्र्यौट भएको जानकारी दिए । ति मुद्दा मध्ये एक सय ६२ वटा मुद्दा अदालतमा दर्ता भएको जानकारी दिए ।
अख्तियारको तथ्याङ्क अनुसार स्याङजामा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको ४८ र चालू आर्थिक वर्षमा दर्ता भएको ८५ गरी कुल १ सय ३३ उजुरी मध्ये ८८ वटा उजुरी फछ्यौट भएको र ४५ वटा उजुरी अनुसन्धानकै क्रममा रहेको उप सचिव शर्माले जानकारी दिए ।
वालिङमा पनि गत वर्षबाट जिम्मेवारी सरेर आएको ८ र चालु वर्षमा दर्ता भएको ९ गरी कुल १७ उजुरीमा ८ वटा फछ्यौट भएका छन् भने बाँकी ९ वटा उजुरी अनुसन्धानकै क्रममा रहेको जानकारी दिए।
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले आफूहरु सुशासनका लागि प्रतिवद्ध भएर लागेको वताएकी छन् । स्थानीय तहहरुमा नागरिकले अनावश्यक दुख दिनका लागि उजुरी दिने गरेको पाइएकोले उजुरीको शुष्म ढंगवाट विश्लेषण गरेर मात्र अनुसन्धान गर्न सुझाव दिएकी छन् ।
वालिङ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले केहि व्यक्तिहरुले आफ्नो स्वार्थपुर्तिका लागी नियतवस अख्तियारमा उजुरी गर्ने गरेको भन्दै यसलाई पनि अख्तियारले सुस्म ढंगले हेर्नुपर्ने बताए । शर्माले पछिल्लो समय स्थानीय विकास योजनाहरुमा जनसहभागिता कम भएको भन्दै यसमा जनप्रतिनिधिहरु तथा आम सर्वसाधारण प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए । जनप्रतिनिधि नै ठेकेदार हुने समस्याले काम गर्न गाह्रो हुनेगरेको शर्माको भनाई थियो ।
वालिङ नगरपालिकाभित्र रहेका संघिय, प्रदेश कार्यालयका प्रमुख तथा प्रतिनिधि, नगरभित्र रहेका सामुदायीक विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्ष, नगरपालिका कार्यालयका विभिन्न शाखा प्रमुखहरु, उपभोक्ता समिति, संचारकर्मी र जनप्रतिनिधिहरु बिच गरिएको भष्ट्रचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्वन्धी अन्तरक्रियामा केही कानुनी अड्चनका कारण पनि विकास निर्माण र खर्चमा समस्या हुने गरेको सहभागीहरुले बताएका थिए ।