गल्याङ, चैत्र २४ । स्याङ्जा जिल्लाकै पश्चिम क्षेत्रको केन्द्रको रुपमा रहेको गल्याङ नगरपालिकामा नयाँ वर्षको अवसर पारेर तेस्रो गल्याङ महोत्कोसवको आयोजना गरिएको छ ।
कृषि, उद्योग, पर्यटननै हाम्रो पूर्वाधार भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सव यही चैत्र ३० देखि वैशाख ९ गतेसम्म सन्चालन हुने गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोल प्रसाद श्रेष्ठले शनिवार गल्याङमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
स्थानीय उत्पादन, जातीय र सांस्कृतिक भेषभूषा प्रर्दशन, पर्यटकीय क्षेत्रको प्रवर्दन, स्थानीय उत्पादनको प्रर्दशन, स्थानीय प्रतिभा प्रस्फुटन लगायतको विकास र प्रर्वदन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा गल्याङको उत्पादन दुध र तरकारीको व्यावसायिक प्रदर्शनी, कृषिमा आधुनिकिकरण सहितका कृषि औजारको प्रर्दशनी, गल्याङ डान्स आइडियल र संस्कृति संग सम्बन्धित रत्यौली प्रतियोगिता महोत्सवको अर्को आकर्षण हुने आयोजकले जानकारी दिएको छ । रत्यौली प्रतियोगिताले सामाजिक संस्कृतिलाई मर्यादित र सिर्जनात्मक बनाउने आयोजकले अपेक्षा लिएको छ ।
यस्तै, महोत्सवमा मनोरञ्जनका लागि बाल उद्यान, सांस्कृतिक मञ्च र समारोह, विभिन्न व्यावसायिक स्टल तथा कृषि प्रदर्शनी, विभिन्न जातीय सांस्कृतिक झाँकी तथा भेषभूषा प्रदर्शनी, पर्यटकीय क्षेत्रको आर्थिक तथा व्यावसायिक प्रवर्दन र गल्याङ क्षेत्रको विकासका लागि लगानी भित्र्याउन सक्ने योजनाका विषयमा समेत महोत्सवले टेवा पुग्ने गल्याङ उद्योग वाणिज्य संघका सचिव उमा श्रेष्ठले जानकारी दिईन् ।
महोत्सवमा झण्डै पाच करोडको आर्थिक कारोवार हुने लक्ष्य लिएको छ । साथै महोत्सवमा आयोजक उद्योग वाणिज्य संघले झण्डै ५५ लाखको अनुमानित आय व्याय प्रस्ताव गरेको प्रचार प्रसार संयोजक विष्णु अधिकारीले जानकारी दिए । झण्डै ५० हजार दर्शकले मेलाको अवलोकन गर्ने आयोजकको दावी छ ।
महोत्सवमा एक सय ४० स्टल रहने जसमा कृषिको लागि निशुल्क स्टलको व्यवस्था गरिएको र स्थानीय व्यापारीको लागि सहुलियत दरमा स्टल व्यवस्था गर्ने आयोजक गल्याङ उद्योग वाणिज्य संघले जनाएको छ ।