भीरकोट-५ फागुन । नेपाली काँग्रेस स्याङ्जाका सभापती तथा प्रतिनिधि सभा सदस्य राजु थापाले लोकतन्त्रको विकल्प नभएको वताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन स्याङ्जाले शुक्रवार भीरकोट स्थित भीरकोट पार्कमा आयोजना गरेको परिचयात्मक बनभोज कार्यक्रममा बोल्दै साँसद थापाले लोकतन्त्रको विकल्प भनेको सुधारिएको लोकतन्त्र मात्र रहेको हुनाले सवै पक्षको सहकार्यवाट संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने वताएका छन्।
नेपाली कांग्रेस राष्ट्रसेवक कर्मचारीहरुको सेवा सुविधा र समस्या समस्या समाधानका लागि गम्भीर रहेको बताउँदै समस्या पहिचान गरेर त्यसको समाधान गर्न व्यक्तिगत र पदीय जिम्मेवारी अनुसारको सक्दो सहयोग गर्ने उनले बताए ।
कर्मचारी यो देशको स्थायी सरकार हो, राज्यको महत्वपूर्ण मेरुडण्ड हो, साँसद थापाले भने,“देशलाई, राज्यलाई माथि उठाउने, राज्यका संयन्त्रहरु सञ्चालन गर्ने, संघीयता बचाउने र कार्यन्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी कर्मचारीमा छ ।” आवश्यकता अनुसार कर्मचारीका समस्या समाधान हुनु पर्दछ र देशलाई माथि उठाउने सवालमा कर्मचारी र तीनै तहका सरकारवीच सुमधुर सम्बन्ध र समन्वय हुन आवश्यक रहेको वताएका छन् ।
थापाले निजामति कर्मचारी ऐन को विषयमा आफू गम्भीर रहेको वताउदै थापाले यहाँहरूकै सल्लाह र सुझाव अनुसार सँसदमा आवाज उठाउने प्रतिवद्धता समेत गरे ।
नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोख्रेलले कर्मचारीहरुको एकता, इमान्दारीता र निष्ठालेनै कर्मचारीहरुका समस्या समाधान हुने बताए ।
राज्यले कर्मचारीहरुको सेवा सुरक्षाको ग्यारेण्टी गर्नु पर्ने बताउँदै उनले कर्मचारीहरुको अधिकार, सरुवा बढुवा, सेवा सुविधाका विषयमा राज्य गम्भीर हुनुपर्ने र स्पष्ट ऐनमा उल्लेख भएर ऐन अनुरुप कार्यन्वयन हुनुपर्नेमा जोड दिए । कार्यक्रम नेपाल निजामति कर्मचारी युनियन स्याङ्जाका अध्यक्ष ज्ञानप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।