वालिङ १६ माघ । वालिङ नगरपालिकाले संघीय शिक्षा ऐन विपरित १५ ओैं नगरसभावाट शिक्षा ऐन संशोधन गरेपछि सुरू भएको विवाद अन्ततः अदालत पुगेको छ ।
वाड नं ३ स्थित माझकोट मा.वि मा विद्यालय व्यवस्थापन समिति गठन प्रकृयामा अदालतले अन्तरिम आदेश जारी गरि स्थगन गरेको अवस्थामा विद्यालय व्यवस्थापन समिति गठन गरि वडा अध्यक्ष आफै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका थिए । अदालतको अपहेलना गरेको भन्दै नगरपालिका विरूद्ध कार्यपालिका सदस्य भक्तवहादुर गोतामे निवेदक भएर मुद्दा दर्ता गरिएको छ ।
वालिङ नगरपालिकाले गत पौष २९ गतेको १५ ओैं नगरसभावाट वडा अध्यक्ष स्वत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनेगरी शिक्षा ऐन संशोधन गरेपछि उक्त ऐन विवादमा परेको छ । सभामा एमाले निकट नगर प्रमुख कृष्ण खाँण सहित ८ वटा वडा अध्यक्ष र काँग्रेस निकट ६ वटा वडा अध्यक्ष सहित सभामा वहुमतले पारित गरेपछि काँग्रेस निकट उप प्रमुख कविता तिवारी सहित १५ जनाले उक्त ऐनको विरूद्धमा नगरसभा वहिष्कार गरेकी थिइन ।
संघीय ऐन विपरित नगर ऐन संशोधन भएको भन्दै खारेजीको माग गर्दै अदालतमा मुद्दा विचाराधिन भएकै अवस्थामा माझकोट मा.वि.मा वडा अध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरेपछि अदालतको समेत मानहानि भएको कार्यपालिका सदस्य भक्तवहादुर गोतामेले वताए ।
नगरपालिकाको संशोधित शिक्षा ऐन विवादमा आएपछि संघीय ऐन अनुसार व्यवस्थापन समिति गठन गरिएको माझकोट मा.वि.का प्रअ अमृत खनालले जानकारी दिए ।
नगरपालिकाले शिक्षा ऐन वनाउदा अघिल्लो नगर सरकारले जनप्रतिनिधि विद्यालयको अध्यक्ष हुन रोकेको थियो भने हाल संशोधित शिक्षा ऐनमा स्वत वडा अध्यक्ष समितिको अध्यक्ष वन्ने गरि ऐन संशोधन गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिमा यामकुमारी सुनार, हिरामाया गुरूङ, देउवहादुर गुरूङ, कमलप्रसाद काफ्ले, भोवहादुर गुरूङ, विष्णु गुरूङ र शिक्षक प्रतिनिधि दलविर कुमार गुरूङ, सचिव विद्यालयका प्रअ अमृत खनाल र शिक्षक अभिभावक संघ केशवराज गुरूङ चयन भएका थिए ।
उता उच्च अदालत पोखराले उक्त अपहेलना मुद्दाका प्रतिवादीलाई यही भोलि १७ गते पेशी तारेखका लागि अदालतमा हाजिर हुन भनेको छ ।