वालिङ- १५ माघ । वालिङ महोत्सव २०८० सुरू हुन तीन दिन वाँकी हुँदैगर्दा वालिङ बजार सजावटले महोत्सवको रौनक थपिएको छ ।
‘हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजित महोत्सवको मिति नजिकिँदै गर्दा वालिङ बजार रंगी विरंगी ध्वजा पतका र ब्यानरले झकिझकाउ भएको छ ।
माघ १८ गतेबाट हुने महोत्सवका लागि बजार सजावट गराउन सवै बजारबासीलाई भनिएको बजार सजावट उपसमितिका संयोजक चुत्रकुमारी थापा (दुर्गा) ले जानकारी दिइन ।
महोत्सवलाई स्वागत गर्नका लागी स्थानीय व्यापारी निकै उत्साहित भएको भन्दै आफ्नै खर्चमा वालिङका व्यापारी व्यवसायीहरुले आफ्नो घर अगाडिमा ध्वजा पतकाले सजाएका हुन् । वालिङका केहि बजार मध्ये भिआईपि टोल, बगालेटोल, मोडमा बजार रंगिबिरंगि भएको छ ।
उता महोत्सव स्थलमा पनि तयारी तब्र पारिएको छ ।
स्टल निर्माण,बालउद्यान मञ्च निर्माण लगायतका काम धमाधम भईरहेको मूल आयोजक समितिका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए ।
आठौँ वालिङ महोत्सव ५ वर्षपछि हुन लागेको भन्दै सम्पूर्ण जिल्लाबासीको सदभाव र मायाले महोत्सव सफल हुनेमा आफू ढुक्क रहेको अध्यक्ष श्रेष्ठले बताए ।