वालिङ–२२ पौष । कोभिड १९ का कारण रोकिएको वालिङ महोत्सवले यस वर्षवाट निरन्तरता पाउने भएको छ । गण्डकी प्रदेशकै दोस्रो ठूलो महोत्सवको पहिचान वोकेको वालिङ महोत्सव आगामी माघ १८ गतेदेखि आठौं संस्करणको रुपमा वालिङ स्थित खेलमैदानमा सुरु हुने भएको छ ।
वालिङ उद्योग वाणिज्य संघ, वालिङ नगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त अयोजनामा ’हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नाराका साथ सन्चालन हुने वालिङ महोत्सव १० दिन सम्म सन्चालन हुने शनिवार वालिङ खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा आयोजक वालिङ उद्योग वाणिज्य संघले जानकारी गराएको छ ।
महोत्सववाट १ करोड २६ लाख आम्दानी र ७९ लाख ५१ हजार खर्च गरी झण्डै ५६ लाख ५० हजार बचत गर्ने योजना रहेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेत नारायण श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । महोत्सवमा १० करोडको आर्थिक कारोवार गर्ने लक्ष्य लिएको छ भने ३ लाख दर्शकले महोत्सव आवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सववाट बचत रकमवाट केही रकम व्यवसायीक हितकोष मा राखिने समेत अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
मेलाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, विभिन्न जातजातीको भेषभूषा प्रर्दशनी, डान्स आइडियल सिजन ३ लगायतका मनोरञ्जनका कार्यक्रमहरु सन्चालन हुने आयोजकले बताएको छ । प्रदेश स्तरीय कृषि, पर्यटन सास्कृतिक एवम् औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने वालिङ महोत्सवमा स्थानीय स्तरका विभिन्न कृषि उत्पादन, हस्तकला, कृषि यन्त्रिकरणको प्रदर्शनी, पशुपक्षीलगायत मुख्य आकर्षणका रुपमा रहने आयोजकले जानकारी दिएको छ ।
मेलामा विभिन्न २ सय ५० ओटा स्टल रहनेछन् । उक्त स्टलहरु मध्ये ५० प्रतिशत बुकिङ भईसकेको आयोजकले जानकारी दिएको छ । महोत्सवमा शैक्षिक प्रदर्शनी अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुद्वारा निर्मित नयाँ नयाँ आविश्कारहरुको प्रदर्शनी, पुस्तक प्रदर्शनी महोत्सवको आकर्षक इभेण्टको रुपमा रहेको जनाएका छन् ।
महोत्सवको प्रवेश टिकट शुल्क सर्वसाधारणको लागि रु १००।– र विद्यार्थी सहुलियका लागि रु ७०।– तय भएको छ भने स्थायी पासको लागि रु ५००।– निर्धारण गरिएको छ । वालिङ उद्योग वाणिज्य संघका नवीकरण भएका साधारण सदस्यहरुको लागि भने पास निःशुल्क उपलब्ध गराईने संघले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य शोभाकान्त पौडेलले वालिङ महोत्सवले विशिष्ट पहिचान वोकेको हुनाले अव यसको निरन्तरता दिनुपर्ने वताए । वालिङ महोत्सव वालिङको मात्र नभइ जिल्लाकै पहिचान बनाउन सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वालिङ नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा वालिङ उद्योग वाणिज्य संघका सल्लाहकार दिलिप प्रताप खांणले महोत्सवका वारेमा नकारात्मक भ्रम श्रृजना नगर्न आग्रह गरे । वालिङ महोत्सवले देशमा मात्र नभई विश्वव्यापी रुपमा वालिङलाई चिनाउन सफल भएकाले साना तिना कुरामा नअल्झन सबै पक्षलाई आग्रह गरे । महोत्सव स्थलको विषयमा उठाइएका विषयहरुमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको वताउदै खांणले वालिङ खेल मैदानलाई वालिङको टुंडिखेलको रुपमा विकास गर्नुपर्ने वताएका थिए ।
पत्रकार सम्मेलनमा वालिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पुण्यप्रसाद अर्याल, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, प्रकाश डोटेल, कोषाध्यक्ष रमेश गोदार लगायतका पत्रकारहरु संघका वरिष्ठ उपाध्यक्ष अनुपमा तिवारी, उपाध्यक्ष खगेन्द्र अर्याल, महासचिव रमेश अर्याल लगायतले आआफ्नो धारणा राखेका थिए ।