काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजया दशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।
कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ ।
गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान पर्व वडादशैं सुरु हुँदैछ । कात्तिक पहिलो साता वडा दशैको मुख्य दिन अर्थात् विजया दशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो वडादशैं पर्व समाप्त हुन्छ ।