अर्जुन काफ्ले
स्याङ्जा, वैशाख १७ गते । कालीगण्डकी नदी राम्दीमा थप डिजाइनसहित नमुना पुल बन्ने भएको छ। पुल महाशाखा काठमाडौँले राम्दीमा ‘आर्च थ्रु डिजाइन’को मोटरेबल पुल निर्माण गर्न लागेको हो। सिद्धार्थ राजमार्ग सडकखण्डको प्रदेश नम्बर ४ को स्याङ्जा र प्रदेश ५ को पाल्पा जोड्ने पुल बनिरहेको छ।
अमेरिका र थाइल्यान्डमा पुल क्षेत्रमा काम गर्नुभएका नेपाली डिजाइनरले उक्त पुलको डिजाइन गर्नुभएको हो। आर्च थ्रु डिजाइनमा निर्माण हुन लागेको राम्दी मोटरेबल पुल १०८ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुने पुल सेक्टर पोखराका प्रमुख नवराज बास्तोलाले बताउनुभयो।
नयाँ बन्न लागेको पुल २०२८ सालमा बनेको अहिलेको ट्रस ब्रिजभन्दा १५ मिटर बढी लामो हुनेछ। अहिले रहेको पुलसँगै जोडेर पूर्वपट्टी नयाँ आर्च थु्र पुल निर्माण हुने बास्तोलाले बताउनुभयो। २०७९ असार ३० गते तीन वर्षमा सक्ने गरी हिम सगरमाथा प्रालि चितवनले ठेक्का सम्झौता गरेको भए पनि डिजाइन समयमै नबन्दा निर्माण ढिलो भएको हो। ११ मिटर चौडाइको पुल २७ करोड ७१ लाख नौ हजार छ सय रुपियाँमा निर्माणको सम्झौता गरिएको हो।
सञ्चालनमा रहेको पुल जीर्ण हुँदा सवारीसाधन ओहोरदोहोरमा समस्या भएपछि नयाँ पुल बन्न थालेको हो। २०२८ सालमा सम्पन्न भएको अहिलेको पुल जीर्ण भई जोखिम थपिँदा १५ टनभन्दा बढी क्षमताका सवारीसाधनलाई रोक लगाइएको छ।