वालिङ, ३ बैशाख ।
स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुको बजारीकरणमा जोड दिंदै वालिङ नगरपालिकाले ‘कोसेली घर’ निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
नगरपालिका कार्यालय परिसरभित्र नगरपालिकाका १४ वटै वडामा उत्पादन भएका स्थानीय वस्तुहरुको प्रचार प्रसार तथा बजारीकरणमा सहयोग गर्ने उद्देश्यले कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याईएको नगर प्रमुख दिलीपप्रताप खाँणले जानकरी दिए ।
वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने योजनासहित नीति तथा कार्यक्रम बनाईएको र उक्त कार्यक्रमको उपलव्धी यही कोसेली घरमा राखिएको वताएका छन् ।
“स्थानीय स्रोत र साधनलाई अधिकतम प्रयोग गरी निर्माण गरिएका तानका कपडा, स्वीटर, गरगहना, उपहार, अन्य हस्तकलाका सामग्रीहरु कोसेली घरमा राखेका छौं” उनले भने, “स्थानीयस्तरमा उत्पादन भएका सामग्रीहरुको प्रचार प्रसार हुनुका साथै बजारीकरणकालागि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वासमा छौं ।”
वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने क्रममा खाद्य तथा तरकारी र मासुजन्य उत्पादनलाई ब्यवस्थित गर्नकालागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थालाई जिम्मा दिईएको छ ।
सामूहिक वा ब्यक्तिगतरुपमा स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी सामग्री उत्पादनमा जोड दिन नगरपालिकाले सहयोग गर्दै आएको जानकारी दिए ।
“नगरभित्रका विभिन्न ठाउँमा सामूहिक वा ब्यक्तिगतरुपमा स्थानीय स्रोत र साधनको उपयोग गरी हस्तकलाका सामग्रीहरु उत्पादन र ब्यवसायीकरणमा जोड दिएका छौं” नगर प्रमुख खाँणले भने, “सामूहिक वा ब्यक्तिगतरुपमा उत्पादन भएका सामग्रीहरुको प्रचार प्रसार र बजारीकरणमा ध्यान दिंदै नगरपालिकाले कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याएको हो ।”
विशेष गरी नगरपालिका सामग्री उत्पादन गर्ने उत्पादक र उपभोग गर्ने उपभोक्ताबीचमा समन्वयकारी भूमिकामा रहेको छ । पारदर्शी सिसाबाट निर्मित कोसेली घरमा उत्पादन गर्ने संस्था वा ब्यक्तिको नाम, सम्पर्क नं., वस्तुको मुल्य देखिने गरी राखिएको छ ।
उत्पादक र उपभोक्ताबीचमा समन्वयकारी भूमिका खेलेर नगरपालिकाले दुई पक्षलाई जोडिदिने काम गरेको स्वस्तिका बैदिक हस्तकला उद्योगकी सञ्चालक दुर्गा न्यौपाने बताइन् ।
नगरपालिकाभित्रका विभिन्न ठाउँबाट तथा अन्यत्रबाट नगरपालिकाको भ्रमणमा आउनेहरुले नगरपालिका परिसरमा निर्माण गरिएको कोसेली घरमा राखिएका सामग्रीहरुको अवलोकन गर्ने र मन परेका सामग्रीहरु खरिद गरेर लैजाने गरेका छन् ।