काठमाडौँ । दीपेन्द्रसिंह ऐरीको सानदार बलिङपछि नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार
आयरल्यान्डविरूद्ध खेल जित्न १ सय २८ रनको लक्ष्य पाएको छ । नेपालले टस जितेपछि ब्याटिङमा आएको आयरल्यान्ड ओमानको मस्कटमा १ सय २७ रनमा अलआउट भयो ।
आयरल्यान्डले दिएको लक्ष्य नेपालले १३.३ ओभर भित्र पुरा गर्यो भने उपाधि पनि जित्ने छ । नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो ।
त्यस्तै कप्तान सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको कोशेढुंगा पार गरेका छन् । उनी टी–२० मा ५० विकेट लिने पहिलो नेपाली बलरसमेत हुन् ।
चारदेशीय श्रृङ्खलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् । उनले जर्ज डकरेललाई २८ रनको स्कोरमा आउट गरेर ५० विकेट पूरा गरेका हुन् ।
सन् २०१८ मा विश्व ११ का लागि वेष्टइण्डिजविरुद्ध सन्दीपले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । सन् २०१९ को जनवरी ३१ मा युएईसँगको श्रृङ्खलाका क्रममा उनले २ विकेट लिएका थिए । त्यसयता ३ वर्षको अन्तरमा उनले ५० विकेट पूरा गरेका छन् ।