काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालमाथि शब्दमार्फत हमला गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शब्दमार्फत हमला गरेका हुन् ।
माधवकुमार नेपालले लामो समय पार्टीको नेतृत्व गरेको तर त्यस क्रममा पार्टी खुम्चिएर कचौरा जत्रो हुन पुगेको बताए । ओलीले पार्टीको नीति नियम नमान्ने, अनुशासनहीन काम गरेर अचाक्ली गर्नेलाई पार्टीबाट निकालिदिएको बताएका छन् । माधवकुमार नेपाल समूहलाई इंगित गर्दै ओलीले भने, ‘अचाक्ली गर्नेलाई पार्टीबाट निकालिएको, मन्त्री बनाए भो त ।’
ओलीले माधवकुमार नेपाल समूहमा रहेका नेताहरुलाई एमालेमै फिर्ता हुन पनि अपिल गरे । ‘अब अलमलमा पर्नुपर्ने कुरा छैन । माधव नेपालले नाम लेखेर निर्वाचन आयोगमा बुझाएकाहरु पनि आउनुस्’ ओलीले भने । ओलीले एमाले विभाजन भएको नभई चोइटिएको पनि बताए ।
त्यस्तै ओलीले अबको चुनाव नेकपा एमालेको हो र बाँकी छेउमा बसेर हेरे हुने प्रतिक्रिया दिएका छन् । ‘म सबैले सुन्ने गरी भनिदिन्छु । अबको चुनाव एमालेको हो चुनाव हो,’ उनले भने, ‘अरुले छेउमा बसेर हेरे हुन्छ ।’ ओलीले माधवकुमार नेपाल समूहका मान्छे आफूतिर तान्न थोरै मेहनत गरे दल नै दर्ता नहुने पनि दाबी गरे ।
त्यसैगरी ओलीले बुधबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिन जानेक्रममा नेतृ रामकुमारी झाँक्रीले माधवकुमार नेपालको हात समातेको विषयमा टिप्पणी गरेका हुन् । ‘हिजो केही मान्छेहरु, कोही समातिएर घिसारिँदै, कोही समातेर घिसार्दै निर्वाचन आयोगमा पुगेको देख्नुभयो होला । केही मान्छेहरुले पार्टी छोड्नु नयाँ कुरा होइन,’ उनले भेन, ‘तपाईं सधैं हरियो देखिने रुख लगाउनुस् तर पनि कोही–कोही पात झरिरहेको हुन्छ, कोही–कोही पात पलाइरहेको हुन्छ। पालुवा पनि पलाउँदै गइरहेको हुन्छ। कोहीकोही पात झर्दै गइरहेको हुन्छ। पातै नझर्ने, झर्दै नझर्ने रुख संसारमा हुँदैन। यो सिलसिला नै हो ।’