शंकर तिवारी शेरबहादुर देउवा कांग्रेसको १३ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएको झन्डै ६ वर्ष पुग्न लागेको छ । कोभिड महामारीले अनिश्चित बनेको कांग्रेसको अधिवेशन केपी ओलीले पुस ५ गते हठात् संसद् विघटन गरेपछि थप अन्योलमा परेको छ । सर्वोच्च अदालतको फैसला नहुन्जेल र त्यो फैसला कुन पक्षमा हुन्छ भन्ने निक्र्योल नहुन्जेल कांग्रेसको अधिवेशनको टुंगो लाग्ने छैन । नेपाली कांग्रेस यसरी हेर्दा संवैधानिक संकटतर्फ अगाडि बढिरहेको देखिन्छ । राष्ट्रिय संकट र पार्टीको संकट दुवै एकै पटक पार लगाउनुपर्ने जिम्मेदारी पार्टीमा आइपरेको छ । प्राकृतिक विपत्ति र राष्ट्रिय राजनीतिक संकटभन्दा अकन्टक रूपमा शेरबहादुर देउवाको पनि पार्टी सत्ता लम्ब्याउने दाउले गर्दा कांग्रेस पार्टीको यस्तो अवस्था हुन पुगेको हो ।
शेरबहादुर देउवा आफूभन्दा पूर्ववर्ती पार्टी सभापतिहरूले चलाए भन्दा राम्रोसँग पार्टी चलाउने छु भन्ने वचनबद्धताका साथ पार्टी सभापतिमा निर्वाचित भएका थिए । तर उनको चार वर्षे कार्यकाल सकाएर थप लम्बिँदै गइरहेको समयावधि हेर्दा उनी विगतका सभापतिहरूभन्दा औसत सावित हुँदै गइरहेका छन् । तीन पटक प्रधानमन्त्री भइसकेका र नेपाली कांग्रेसलाई फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति भएका देउवालाई माउ पार्टी नेपाली कांग्रेस पार्टीको सभापति पद कार्यकर्ताहरूले देउवाको विगतको कुकृत्यलाई बिर्सेर दया र मायासहित सुम्पेका थिए र त्योसँगै केही आशा र भरोसासमेत थियो ।