वालिङ, २९ चैत्र ।
स्याङ्जा वालिङ घर भई बेलायतमा बसोवास गर्दै आएका भूपू गोर्खा यामबहादुर मल्लको कोरोना भाइरसको संक्रमणका कारण मृत्यू भएको छ । बेलायतको स्वीन्डनमा बस्दै आएका उनको शनिबार बिहान निधन भएको हो ।
स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि उनलाई चार दिन अगाडि स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना गरिएको थियो । हस्पिटलमा उपचारकै क्रममा आज बिहान करिब तीन बजेतिर उनको मृत्यु भएको समाजसेवी एवं क्षेत्री समाज बेलायतका अध्यक्ष राजन कुमार क्षेत्रीले जानकारी दिए ।
उनलाई ज्वरो आउने, रुघाखोकी, डाइरिया तथा बमिटिंग लगायतको समस्या उत्पन्न भएपछि हस्पिटल लागिएको र ४८ घण्टापछि कोरोनाको पुष्टि भएको क्षेत्रीले बताए ।
सन् २००४ देखि आफ्ना छोरा बुहारी नारायण मल्ल तथा शान्ता मल्लका साथ बेलायतको स्वीन्डनमा बस्दै आएका थिए । उनको तीन छोरी र एक छोरा रहेका छन् । स्याङ्जा जिल्लाको वालिङ घर भएका मलको यसअघि नै हंङकंगमा वाइपास सर्जरी गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
हालसम्म कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ८ जना नेपालीको ज्यान गैसकेको छ । स्रोत : रातोपाटी