स्याङ्जा-२० चैत्र ।
स्याङ्जाको वालिङबाट कोरोना संक्रमणको आशंकामा चार जनाको नमूना परीक्षणका लागि पोखरा पठाईएको छ । वालिङ नगरपालिकाका एक जना पुरुष र चापाकोट नगरपालिकाका दुई पुरुष तथा एक महिला गरी चार जनाको स्वाव नमूना परीक्षणका लागि पोखरा पठाईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए ।
२६ दिन अघि कतारबाट आएका चापाकोटका एक पुरुषको श्रीमतीलाई एकहप्तादेखि ज्वरो आउने तथा खोकी लाग्ने समस्या देखिएपछि कोरोना संक्रमणको लक्षण संग मेल खान गएकाले चापाकोटवाट थप उपचारका लागि वालिङ स्थित गह्रौ अस्पताल आएका थिए । उच्च ज्वरो आएपछि स्वास्थ्यकर्मीले परामर्स गर्दा शंका लागेपछि दम्पती तथा बुवाको स्वाबको नमूना परीक्षणका लागि पोखरा स्थित प्रयोगशालामा पठाईएको प्रजिअ कुरुम्बाङ्ले बताए ।
यस अगाडी फेदिखोला र पुतलीबजारका गरी ३ जनाकोे स्वाब परिक्षणका लागि पठाइएको थियो । उनीहरुको स्वाब परिक्षणबाट नेगेटिभ देखिएको थियो । जिल्लामा हालसम्म ७ जना संकास्पद विरामीको नमुना परिक्षणका लागि पठाइएको थियो ।
वालिङका पुरुष विदेशबाट संक्रमित ब्यक्ति सवार जहाजमा आएका बताईएको छ । हाल उनकोे स्वास्थ्य अवस्था सामान्य रहेको वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले बताए । उनलाई अहिले पनि होम क्वारेन्टाईनमा राखिएको छ भने चापाकोटवाट आएका ३ जनालाई वाालिङमा रहेको आईसोलेसनमा राखेर उपचार गरिएको जानकारी दिइएको छ ।
परिक्षणमा पठाईएको रिर्पोटको प्रतिक्षामा रहेको जानकारी दिदै खाँणले त्यसपछि थप कस्तो कदम चाल्ने भन्ने विषयमा अगाडी बढ्ने बताए । कोभिड १९ को संक्रमणबाट आँफू पनि बच्न र अरुलाई पनि बचाउन लकडाउनको पूर्ण पालना गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले आग्रह गरे ।
स्याङ्जामा अहिले सम्म २३ जना क्वारेन्टाईनमा र ५ सय ६७ जना होमक्वारेन्टाईनमा राखिएको छ भने ३ जना क्वारेन्टाईन पछि घर फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।