वालिङ, १७ चैत ।
स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय स्तरमै ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उत्पादन गरी प्रयोगमा ल्याएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना कोभिड १९ को सम्भावित खतरा वढदै गइरहेको अवस्थामा रोकथामका विभिन्न उपाय अपनाउने क्रममा शंकास्पद बिरामीको स्वास्थ्य परीक्षणका लागि खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकहरुलाई वालिङमै उत्पादन गरेर प्रयोगमा ल्याइएको नगरपालिका कार्यालयले जनाएको छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्वुलेन्स चालकको संक्रमण हुने खतरा रहेकाले प्राथमिकताका आधारमा एकसय थान पिपिई उत्पादन गरी प्रयोगमा ल्याएको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले वताए ।
उनका अनुसार, “अरु उत्पादन गरिरहेका छौं, उत्पादन भएको पिपिई छिटोभन्दा छिटो प्राथमिकताका आधारमा वितरण गरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकहरुका लागि केही हदसम्म सुरक्षित बनाउने पहल भएको छ ।” पिपिईको अभावमा शंकास्पद बिरामीहरुको परीक्षण गर्नका लागि जोखिम हुनसक्ने भएकाले स्थानीय वालिङ बजारमै उपलव्ध कपडावाट उत्पादन गरीे पिपिईको प्रयोग गरेको नगर प्रमुख खाँणले जानकारी दिए ।
विदेशबाट नगरभित्र आएका विभिन्न ब्यक्तिहरुको विवरण संकलन गर्नका लागि घर–घरमा पुग्नुपर्ने र नगरपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा परीक्षणका लागि बिरामीहरु आउने तर पिपिईको अभावमा समस्या हुन सक्ने भएकाले यसको महत्व झनै बढेर गएको नगर प्रमुख खाँणले बताए ।
स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि संक्रमणबाट बच्नका लागि ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) तयार पारिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । उनका अनुसार
“पर्याप्तमात्रामा ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध नभएका कारण स्वास्थ्यकर्मीहरुलाई बिरामीको परीक्षण गर्न जोखिम रहेको थियो” शाखा प्रमुख पाण्डेले भने, “संक्रमणबाट केही हदसम्म भएपनि जोगाउनका लागि वालिङ नगरपालिकाले आफ्नै पहलमा उच्चस्तरीय कपडाको प्रयोग गरी स्थानीयस्तरमै ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) तयार गरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकहरुलाई वितरण गरिएको छ ।”
नगरपालिकाले पिपिई पत्रकारलाई समेत व्यवस्था गर्ने जनाएको छ । भाइरस संक्रमणको जोखिममा समाचार संकलन गर्ने र आम जनतालाई यसवाट बच्नका लागि सूचना प्रवाह गर्ने संचार माध्यमको भूमिका अत्यान्तै महत्वपूर्ण भएकाले पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि पिपिई उपलव्ध गराउने योजनामा रहेको नगरपालिकाले जनाएको छ ।