स्याङ्जा, १४ चैत्र ।
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाईरस -(कोभिड १९) को संक्रमणवाट बच्न स्याङ्जामा उच्च सर्तकता अपनाइएको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको बताएपछि सरकारले जारी गरेको लक डाउनलाई पुर्ण रुपमा पालना गराउन जिल्लाका सबै पालिकामा रहेका जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र प्रशासनले निगरानी राखेका छन् । भने स्याङ्जामा यो अवधिमा बिदेशबाट घर फर्किएकालाई खोजी गरि होम क्वारेन्टाइनमा राखिएको छ ।
यहाँ भारत सहित अन्य देशबाट तिन हजारको संख्यामा आफ्नो घरमा आएको सबैलाई खोज्न थालिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले जानकारी दिए । आफ्नो गाउँपालिका भित्र बिदेशबाट आएका मध्ये संक्रमित हुनसक्ने भएकाले उनीहरुलाई १४ दिन घरमा छुट्टै बस्न सम्वन्धित पालिकाका जनप्रतिनिधि र स्थास्थ्यकर्मीलाई लगाइएको र उनीहरुको निगरानी पालिकामा रहेको स्वास्थ्यकर्मी र प्रशासनले गर्ने कार्य गरिएको उनले बताए ।
हालसम्म विभिन्न पालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा १९ जना राखिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । उनीहरुको निगरानी जिल्ला तहको सुरक्षा समितीले गरिरहेको छ भने जिल्ला भर विदेशवाट आएका झण्डै दुइ सय बढी विशेष निगरानी सहित होम क्वारेन्टाइनमा राखिएको जानकारी दिइएको छ । सम्भावित जोखिमलाई मध्येनजर गर्दै जिल्लाभर एक हजार भन्दा वढी बेड सहितको आइसोलेशन स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिए ।
स्याङ्जामा संक्रमित युवती संगै आएका फेदीखोलाका एक जनाको परिवारका चार जनाको नमुना परिक्षणका लागि काठमाण्डौ पठाइएको छ । उनीहरुको परिक्षण रिपोर्ट भोलिसम्म आइपुग्ने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिए ।
वालिङमा ८४ जना होम क्वारेन्टाइनमा
वालिङ नगरपालिकाभित्रका विभिन्न वडामा विदेशबाट आएका ८४ जना होम क्वारेन्टाईनमा बसेका छन् । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड १९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर÷घरमा पुगेर उनीहरुलाई होम क्वारेन्टाईनमा बस्न सुझाव दिईएको नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।
“नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका ब्यक्तिहरुको तथ्यांक संकलन गरिरहेका छौं” नगर प्रमुख खाँणले भने, “विदेशबाट फर्किएका ब्यक्तिहरुलाई होम क्वारेन्टाईनमा बस्न सुझाव सहित निगरानी तथा अनुगमन पनि अगाडि बढाएका छौं ।”
विदेशबाट आफ्नो टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले टोलबासीहरुलाई आग्रह गरेका छन् ।
वालिङ नगरपालिकाकाले दिएका जानकारी अनुसार हालसम्म नगरपालिका क्षेत्र भित्र दुवई, हङ्कङ, भारत, इटाली, दक्षिण कोरिया लगायतवाट आएका ८४ जनालाई विशेष निगरानीका साथ होम क्वारेन्टाइनमा राखिएको नगर प्रमुख खाँणले जानकारी दिए । उनीहरुको इलाका प्रशासन कार्यालयका प्रमुख दामोदर शर्माको नेतृत्वमा रहेको सुरक्षा र स्वास्थ्यकर्मी सहितको टोलिले विशेष निगरानी गरिरहेको जानकारी दिए ।
नगरपालिकाले १४ वटै वडामा पुगेर विदेशबाट फर्केकाहरुको तथ्यांक संकलन गर्ने कार्यलाई तिब्रता दिएको छ । स्थानीय टोलबासीहरुले नगरपालिका कार्यालयमा खबर गरेसँगै नगरका विभिन्न वडाका घर÷घरमा पुगेर विदेशबाट आउनुभएका दाजुभाई तथा दिदीबहिनीहरुलाई १४ दिनसम्म होम क्वारेन्टाईनमा बस्न सुझावसहित आवश्यक परामर्श प्रदान गरिएको उपप्रमुख कल्पना तिवारीले बताइन् ।
भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गरी सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ । नगरभित्रका सबै वडाका टोलका घर÷घरमा पुगेर विदेशबाट आएका तर १४ दिन पूरा नभएका नागरिकहरुलाई आँफू सुरक्षित हुँदै घरपरिवारलाई पनि सुरक्षित राख्ने उद्देश्यले होम क्वारेन्टाईनमा बस्न सुझाव दिईएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।
होम क्वारेन्टाईनमा बसेकाहरुलाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्श समेत दिईएको छ । नगरका १४ वटै वडामा विदेशबाट आएकाहरुको खोजी गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिईने स्वास्थ्य शाखा प्रमुख पाण्डेले जानकारी दिए ।