स्याङ्जा, १० चैत्र ।
कोरोना भाइरस कोभिड १९ को उच्च जोखिममा रहेकाले सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमवार राती १० बजेबाट निषेधाज्ञा जारी गरिएको छ ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सूचना प्रकाशित गर्दै भाइरस संक्रमण नेपालमा पनि देखिएपछि आफ्नो जिल्लालाई सुरक्षित बनाउन निषेधाज्ञा जारी गरिएको जनाइएको छ।
सूचनामा अन्य जिल्लाबाट स्याङ्जा जिल्लामा प्रवेश गर्ने मालवाहक गाडीबाहेक अन्य सार्वजनिक, निजी सवारी साधन, मोटरसाइकलको आवागमन आज राति १० बजेपछि बन्द हुनेछन् । मालवाहक गाडीका चालक र सहचालकको हेल्थ डेस्कमा स्वास्थ परीक्षण गरेपछि जिल्लामा प्रवेश दिईनेछ ।
स्थानीय प्रशाशन ऐन २०२८ को दफा ६ को ३ बमोजिम जिल्ला भर निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
अव जिल्लामा अत्यावश्यक सामाग्रीका पसल बाहेक अन्य पसलहरु खोल्न पाईनेछैन त्यस्तै समुहमा मान्छे जम्मा हुने कार्य समेत पूर्ण रुपमा निषेधित रहनेछ । यसको उल्लङ्घन गरेमा कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न जिल्लाका सबै निकायहरु अत्यान्तै चनाखो भएर लागेका छन् । जिल्लाका प्रमुख व्यापारिक स्थलहरुमा हेल्थ डेक्स स्थापना, क्वारेन्टाइन र आइसोलेशन स्थापना गरिसकेका छन् ।
भने संक्रमणको शंका लाग्ने वित्तिकै नजिकको स्वास्थ्य संस्था, प्रहरी र स्थानीय तहमा खवर गर्नका लागि जिल्लाका सबै ठाँउहरुमा माइकिङ र सचेतना गरिएको छ । जिल्लाक सबै पालिकाहरुमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।