काठमाडौं, ७ चैत ।
सरकारले यही चैत ९ गतेदेखि अत्यावश्यक सेवा बाहेकका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजानिक, सामुदायिक र नीजि सेवा प्रदायकबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सेवाहरु चैत ९ देखि २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।
यस्तै, आगामी १० गतेदेखि केही अवधिका लागि लामो दूरीका यातायात बन्द गर्ने तथा चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए । प्रधानमन्त्रीले अत्यावश्यक सेवाका सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरूलाई यथावतरूपमा आ–आफ्नो कार्यालयमा उपस्थित भइ नियमित कामकाज गर्न समेत आग्रह गरेका छन् ।
यस्तै, सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजीसहित सबै प्रकारका सवारी–साधनहरू आवश्यकताअनुसार सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि उनले बताएका छन् । प्रधानमन्त्री ओलीले दैनिक उपभोग्य वस्तुको अनावश्यक सञ्चय नगर्न आग्रह गर्दै अप्ठ्यारो समयको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र खाद्यवस्तुमा मिसावट गर्नेहरुलाई प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने चेतावनी पनि दिएका छन् ।
यस्तै, सीमानाकाहरुबाट नेपाल प्रवेश गर्नेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको भन्दै प्रधानमन्त्री ओलीले संक्रमणविरुद्ध लड्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा सार्क राष्ट्रको आपतकालिन कोषमा १० करोड रुपैयाँ प्रदान गर्ने निर्णय भएको जानकारी समेत दिएका छन् ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा सार्क राष्ट्रका सदस्य राष्ट्रहरुबीच भएको भिडियो कन्फ्रेन्समा आपतकालिन कोष निर्माण गर्ने प्रस्ताव भएको थियो ।
प्रधानमन्त्री ओलीले महामारीको अवस्थालाई हेरेर सरकारले आवश्यक थप कदम चाल्ने पनि सम्बोधनका क्रममा बताएका छन् । देशले यति बेला उच्च इच्छाशक्ति र परस्पर सहयोगको अपेक्षा गरेको भन्दै उनले सबै देशवासीलाई सचेत रुपमा सहयोग गर्न आग्रह पनि गरेका छन् ।