गल्याङ, २९ फागुन ।
स्याङ्जाको गल्याङमा ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम सुरु भएको छ । गल्याङ नगरपालिकाको समन्वयमा आँधिखोला बहुप्राविधिक शिक्षालयको सञ्चालनमा ६५ दिने तालिम सुरु भएको हो ।
तालिमको उद्घाटनका अवसरमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले गाउँगाउँमा पशु स्वास्थ्यका लागि जनशक्ति उत्पादनमा लाग्नुपर्ने बताउदै नगरपालिकाले कृषि र पशुका लागि विशेष प्राथमिकतामा काम गरिरहेको बताएका थिए । कृषिलाई उत्पादनमुखि बनाउने योजना रहेकोले अब गाँउ गाँउवाट व्यवसायिक ढंगले उत्पादनमा लाग्न नगरवासीलाई आग्रह गरेका थिए ।
नगरप्रमुख अधिकारीले भने –‘घरमा नौ वटा बाख्रा पाल्ने गरिन्छ तर हामीलाई एक सय वटा बनाउने सोच कहिल्यै आएन, बरु दिल्लीमा जागिरका जाने प्रबृत्ति बन्यो ।’ उनले जागिर खान खोज्ने र आफुु भन्दा जान्ने कोही छैन भन्ने प्रबृत्ति कोरोना भाइरस भन्दा खतरनाक हुने गरेको भन्दै यस्तो सोँचवाट टाढा रहनुपर्ने वताएका थिए ।
रोजगार भन्दा स्वरोजगार हुने कुरा धेरै महत्वपुर्ण रहेको भन्दै नगरप्रमुख अधिकारीले श्रम गर्नका लागि हिच्कीचाउन नहुनेमा जोड दिए । तालिमको अवधि बढाएर भएपनि सक्षम जनशक्ति उत्पादन हुनुपर्ने भन्दै तालिमका लागि आवश्यक समन्वय र सहयोग गर्न नगरपालिका सधैं तयार रहेको बताएका थिए । अधिकारीले भने –‘६५ दिनको तालिमले पर्याप्त नहुन सक्छ । छ महिनाको तालिमको तयारी गर्नुस्, नगरपालिका सहयोग गर्न तयार छ ।’
कार्यक्रममा आधिखोला बहुप्राविधिक शिक्षालयका तालिम संयोजक कमल गैरेले तालिमलाई सदुपयोग गर्न आग्रह गरेका थिए । उनले तालिमपछि परीक्षा हुने र उत्तिर्ण हुनेहरुका लागि मात्रै प्रमाणपत्रको व्यवस्था गरिने स्पष्ट पारे ।
गल्याङ नगरपालिका पशु शाखा प्रमुख तथा तालिमका प्रशिक्षक सुशिल अर्यालले पशुका लागि यो तालिम पहिलो चरण भएको भन्दै आगामी दिनमा पनि तालिमलाई अझै बढाउँदै लैजाने बताए । उनले दैनिक छ घण्टा तालिम सञ्चालन हुने र तालिमका क्रममा सम्बन्धित ठाउँमा नै पुगेर शिक्षण सिकाई हुने जानकारी दिए ।
कार्यक्रमको सञ्चालन गल्याङ नगरपालिका जनसम्पर्क शाखाका प्रमुख दलबहादुर सिंजालीले तालिम पछि ग्रामिण क्षेत्रमा पशुको उपचारमा सहजता पुग्ने विश्वास व्यक्त गरेका थिए ।
तालिममा गल्याङ नगरपालिकाका विभिन्न वडाका २० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।