कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको हो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भनि विश्व स्वास्थ्य संगठनबाट समेत प्रतिक्रिया आएको भन्दै प्रशासनले होली नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको हो ।
जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सीता कुमारी सुन्दासको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस रोकथाम र जोखिमबाट बच्न विभिन्न उपाय अपनाउने तथा सम्बन्धित निकायहरुले आवस्यक जिम्मेबारी निर्वाह गर्ने निर्णय गरेको थियो ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङद्वारा जारी प्रेस नोटमा जिल्लामा अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन, त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन सबैलाई अनुरोध गर्ने निर्णय भएको बताए ।
प्रेस नोटमा भनिएको छ “रंग छ्याप्ने, अबिर दल्ने, लोला तथा पानी छ्याप्ने आदि कार्यबाट कोरोनाको संक्रमण थप जोखिम पूर्ण हुने हुँदा यस्तो कार्य नगर्न नगराउनुहन सम्पूर्ण जिल्लाबासीमा अनुरोध गरिन्छ ।”