स्याङजा, १९ फागुन ।
वन्डरफूल वालिङ पर्यटन विकास संस्थाले गत वर्ष फागुनमा सन्चालन गरेको अन्तराष्ट्रिय वालिङ १०० माउण्टेन वाईक प्रतियोगितामा अध्यक्ष लगायत संस्थाका पदाधिकारीले आर्थिक अनियमितता गरेको आरोप लगाउदै सत्य तथ्य छानविनको माग गर्दै वालिङ नगरपालिकामा उजुरी परेको छ ।
संस्थाका सदस्य गणेश राउतद्वारा हस्ताक्षरित उजुरीमा संस्थाका अध्यक्ष दिनेश तिवारी लगायतका पदाधिकारीले संस्थाको रकम हिनामिना गरेको गम्भिर आरोप छ ।
गत बर्षको फाल्गुणमा भएको अन्तराष्ट्रिय माउन्टेन वाईक ( Walling 100 Ultimate MTB Challenge ) नामक प्रतियोगिता आयोजना गरिएको थियो । उक्त कार्यक्रमका लागि वालिङ नगरपालिकाले समेत दश लाख आर्थिक सहयोग गरेको उक्त उजुरीमा जनाइएको छ ।
उजुरीमा अध्यक्ष दिनकर नेपाल सहितका पदाधिकारीहरुलाई कारवाहीको माग गर्दै नगरप्रमुख दिलिप प्रताप खाँण समक्ष पेश गरिएको संस्थाका सदस्य गणेश राउतले जानकारी दिए । राउतका अनुसार प्रतियोगिताका सन्दर्भमा उठेको लाखौं रकमको आम्दानी खर्च पारदर्शी नहुँदा आफूहरु पनि समाजमा मुख देखाउन नसकेको हुँदा सत्य तथ्य बाहिर ल्याउनका लागि आफूले उजुरी दिएको वताएका छन् ।
वालिङ नगरपालिकामा दिएको उजुरीको वोदार्थ जिल्ला प्रशासन कार्यालय, र आन्तरिक राजश्व कार्यालय पोखरालाई समेत दिइएको जनाएका छन् । संस्थाका अध्यक्ष दिनकर नेपालले उक्त प्रतियोगिताको आम्दानी तथा खर्चको बारेमा अन्य कुनै पनि सदस्यलाई जानकारी नदिएको आरोप छ । प्रतियोगितामा राम्रो आम्दानी भएको भए पनि संस्था घाटामा गएको देखाइएकोले संस्थाको आय व्यय पारदर्शीता गराई सत्य तथ्य बाहिर ल्याउनका लागि पटक पटक जानकारी गरादा समेत वेवास्ता गरिएकाले उजुरी दिन वाध्य भएको राउतले जानकारी दिए ।
उजुरीमा तदर्थ समितिको कार्यकाल ६ महिनाको हुने विधानमा व्यवस्था भएको भएपनि निश्चित समय सिमा भित्र अधिबेशन नगरिएको, संस्थाको लेखा परिक्षण नगरिएको, भर्खरै सम्पन्न आन्तरिक पर्यटन तथा रमाईलो मेला २०७६ मा अनावश्यक बहानामा रकम खर्च गरिएको उल्लेख छ ।
यस्ता गतिविधि सार्वजानिक भएपछि वालिङ नगरपालिकाले समेत ठूलो रकम सहयोग गरेको विषयमा सार्वजानिक चासोको विषय बनेको छ । संस्थाले हालैमात्र सम्पन्न रमाइलो मेलामा समेत अध्यक्ष दिनकर नेपाल विवादित वन्नु परेको र मेलाको संयोजकको जिम्मा आशिष प्रताप खाँणलाई दिनुपरेको उनीहरुको भनाई छ ।
केही समय पहिले संस्थाका सदस्य एवं स्थानीय पत्रकार मणि प्रसाद अर्यालले उक्त साईकलिङ प्रतियोगिताको आय व्याय सार्बजनिक गर्न माग गर्दै फेसबुकमा स्टाटसनै लेखेका थिए । प्रतियोगितामा आर्थिक हिनामिना गरिएको भन्दै पत्रकार अर्यालको पोष्टमा कमेन्ट लेख्दै धेरैले चर्काे बिरोध समेत गरेका थिए । उनले तत्कालिन वण्डरफुल र अहिलेको अन्डरफुल अर्थात नराम्रो भन्ने रुपमा प्रस्तुत समेत गरेका थिए ।
तर संस्थाका अध्यक्ष दिनेश तिवारीले भने संस्थाको हिसाव पारदर्शी रहेको र कुनै हिनामिना नभएको दावी गरेका छन् । भने अन्य जिम्मेवार पदाधिकारीहरुलाई यसबारे सोधखोज गर्दा उक्त प्रतियोगिताको आर्थिक अवस्था बारे आफूहरुलाई जानकारी नभएको बताएका छन् । यस विषय सार्वजानिक भएपछि नगरपालिकाले छानविन समिती गठन गरी सत्य तथ्य बाहिर ल्याई संस्थाको गरिमा र मर्यादालाई कायम राख्नुपर्ने आम नागरिकको समेत चासो वढेको छ ।