स्याङ्जा, १७ फागुन ।
वालिङ् नगरपालिका वाड नं १४ तमादीका ३० वर्षिय यामप्रसाद लुईटेलले मोटरसाईकलवाट विश्व यात्रा गरेर नयाँ किर्तिमानी राख्ने उद्देश्यका साथ १२ बर्षै यात्रा शनिवार वालिङवाट सुरु गरेका छन् ।
गत वुधवार आफ्नो जन्मघरवाट आमा, बुवा, दाई, भाउजु लगायत घरपरिवारको आर्शिवाद लिएर निस्किएका लुईटेललाई शुक्रवार जिल्ला समन्वय समिती स्याङ्जाले र शनिवार वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले वालिङबाट बिधिवतरुपमा विश्वभ्रमण सफल यात्राको कामना सहितको आशिर्वात लिएर आफ्नो यात्रा सुभारम्भ गरेका छन् ।
शनिवार उनको विदाइका लागि वालिङ नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख दिलिप बगाले, वालिङ नगर उपप्रमुख कल्पना तिवारी, वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडले लगायतले सफल यात्राको कामना गर्दै विदाई गरिएको छ । लुईटेलले आजै पश्चिमको दार्चुला तर्फको यात्रा तय गरेका छन् ।
विश्व मोटरसाईकल यात्री लुइटेलले ८ लाख किलोमीटर यात्रा गरी गिनिज बुक अफ वर्ड रेकर्डमा आफनो नाम लेखाउने उदेश्य साथ विश्वभ्रमणमा निस्किएको बताएका छन् । लुईटेलले भ्रमण बर्ष २०२० को अवसरमा नेपाललाई विश्वभर चिनाउने अभियानमा आफू लागेको वताएका थिए । विश्वका १ सय ९२ देश पुग्ने उनको लक्ष्य रहेको छ ।
पारिवारिक आर्थिक अवस्था कमजोर हुदाँ उच्च शिक्षा पढन नपाएको बताउदै अबिबाहित लुईटेलले २०६५ सालमा सउदी अरव पुगेको र फर्केपछि नेपालमै ब्यवसाय गरेपनि केही उपलब्धी हुन नसकेको गुनासो पोख्दै उनले भने, ‘नेपाललाई विश्वसामु चिनाउन यात्रा सुरु गरेको हुँ ।’
पहिलो दुई वर्षमा उनले नेपालका ७ सय ५३ स्थानीय तहको भ्रमण गर्ने र त्यसपछि विश्वभ्रमणका लागि निस्कने बताए । १२ बर्षपछि पुनः उनी नेपाल स्याङ्जा फर्केर आउदा बिभिन्न देशमा पुगेको डकुमेन्ट्री सहित आउने उनले जानकारी दिए । दैनिक २ सय ५० किलोमीटर मोटरसाइकल यात्रा गर्ने उनको लक्ष्य रहेको छ । उनले भने ‘हाल अष्ट्रियाका स्टोन इमेलियाको ७ लाख ३५ हजार किलोमीटरको रेकर्डको यात्रालाई उछिन्नेछु ।’
विश्वभ्रमण यात्री लुईटेललाई जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, गल्याङ प्रमुख भूपराज अधिकारी, पुतलीबजार नगरउपप्रमुख महेश पुरी, निमित्त प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्याल पत्रकार महासंघका उपाध्यक्ष अर्जुन काफ्ले लगायतले शुक्रबार नै विदाई गरेका थिए ।
विश्वभ्रमण यात्रीलाई जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, स्थानीय तहहरुका प्रमुख उपप्रमुख, नागरिक समाज, पत्रकार लगायतले बिदाई एवं शुभकामना दिएका थिए ।